काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कानुनी जटिलताका कारण पर्याप्त वैदेशिक लगानी नआएको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले वीरगन्जमा गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रमको अन्तिम सत्र ‘अर्थमन्त्रीलाई प्रश्नै-प्रश्न’ मा मन्त्री पुनले लगानीका लागि आवश्यक पर्ने कानुन अध्यादेशबाट भए पनि संशोधन गर्ने बताए । लगानी गरेर नाफा कमाएपछि मात्रै कर लिने व्यवस्था हुनुपर्ने भए पनि पहिले नै कर लिने कानुनका कारण लगानी आउन नसकेको उनको भनाइ छ ।
मन्त्री पुनले आफू आइसकेपछि अर्थतन्त्रमा सुधार देखिँदै गएको दाबीसमेत गरेका छन् । बजार चलायमान बनाउन ७० अर्बभन्दा बढी रकम बजारमा पठाएको र निर्माण व्यवसायीमार्फत थप ४० अर्ब पठाउने तयारीमा रहेको उनले बताए ।
यसअघि व्यवसायीलाई सुन्नेभन्दा पहिले थुन्ने कार्य गरिएको भन्दै उनले त्रसित नहुन निजी क्षेत्रलाई आग्रह गरे । विश्व बैंकले गरेको प्रक्षेपणमा साढे ३ देखि चार प्रतिशतसम्म आर्थिक वृद्धि हुने भने पनि यो वर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हाराहारी हुने उनको दाबी छ ।