गुगल, मेटा र माइक्रोसफ्टलगायतका बहुराष्ट्रिय प्रविधि कम्पनीहरूको नेपालमा गर्ने कारोबार बढ्दै

फाल्गुन १३, २०८० |कान्तिपुर टीभी संवाददाता
गुगल, मेटा र माइक्रोसफ्टलगायतका बहुराष्ट्रिय प्रविधि कम्पनीहरूको नेपालमा गर्ने कारोबार बढ्दै

काठमाडौं । गुगल, फेसबुकको मातृ कम्पनी मेटा तथा माइक्रोसफ्टलगायत बहुराष्ट्रिय प्रविधि कम्पनीको नेपालमा गर्ने कारोबार बढ्दै गएको छ ।

यी कम्पनीले गत वर्षको माघसम्म १२ करोड रुपैयाँ कर तिरेकोमा यो वर्षको सोही अवधिमा १७ करोड ३१ लाख कर तिरेका हुन् । नेपालमा अहिले १३ वटा बहुराष्ट्रिय प्रविधि कम्पनी दर्ता भएका छन् । 

नेपालमा हुने कारोबारको १३ प्रतिशत उनीहरूले मूल्यअभिवृद्धि कर तिर्नुपर्छ  भने दुई प्रतिशत डिजिटल सेवा कर तिर्नुपर्छ । सोही अनुसार १५ करोड मूल्यअभिवृद्धि कर र १ करोड ६१ लाख डिजिटल  सेवा कर  तिरेका छन् । 

सरकारले गत वर्षदेखि प्रविधिमार्फत विदेशबाट नेपालमा कारोबार गरिरहेकाहरूलाई कर लगाउनुका साथै कर प्रणालीमा दर्ता हुन आह्वान पनि गरेको छ । ठूला करदाता कार्यालयका प्रमुख जनकराज शर्माका अनुसार २० लाखभन्दा बढीको कारोबार गर्नेहरू कर प्रणालीमा आबद्ध हुनुपर्छ । 

गत वर्ष कर तिरेको टिकटकले यो वर्ष सरकारले प्रतिबन्ध लगाएपछि भने कर तिरेको छैन ।  गत वर्ष ८० करोड ३८ लाख कारोबार गरेको विवरण पेस गरेका १३ कम्पनीले यो वर्ष १ अर्ब २० करोड कारोबार गरेको विवरण ठूला करदाता कार्यालयमा  पेस गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.