परीक्षणै नगरी बारीदेखि भान्सासम्म आइपुग्छ तरकारी

उपभोक्ताको भान्सामा विषादी मिसिएको तरकारी
नागरिकको स्वास्थ्यमा सरकारको हेलचेक्र्याइँ
परीक्षण प्रयोगशाला प्रयोगविहीन
फाल्गुन १०, २०८० |सुमन पन्थ
परीक्षणै नगरी बारीदेखि भान्सासम्म आइपुग्छ तरकारी

काठमाडौं । हामीले दिनहुँ खाने तरकारी विषादी परीक्षणबिनै खेतबारीदेखि हाम्रो भान्सासम्म पुगिरहेको छ । देशैभरको अवस्था यस्तै छ । तर आज हामी तपााईंलाई प्रतिनिधिका रुपमा काभ्रेको खेतबारीबाट हाम्रो भान्सासम्म तरकारी कसरी आइपुग्छ र यसको विषादी परीक्षण कहाँकहाँ हुन्छ देखाउँदै छौं ।

तरकारीमा विषादीको मात्रा कति छ भन्ने क्वारेन्टिन टेस्ट अर्थात् परिक्षण नगरी खान मिल्दैन । विषादी हालेको भए पनि वा नहालेको भए पनि परीक्षण गर्नैपर्छ । काठमाडौं उपत्यकावरिपरिका नुवाकोट, धादिड, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेलगायत जिल्लाबाट तरकारी काठमाडौं आउने गर्छ ।

काभ्रेका किसान तथा व्यापारीका लागि काठमाडौं सबैंभन्दा ठूलो तरकारी बजार हो । उनीहरु भोलिपल्ट बिहानका लागि अघिल्लो दिन नै तरकारी पठाउने गर्छन् । काभ्रेमा उत्पादित तरकारी बिहान झिसमिसेमै भक्तपुरसहित काठमाडौं उपत्यकाका विभिन्न बजारमा आउने गर्छ ।

किसानले पठाएका तरकारी थोक बजारमा पुगेपछि खुद्रा व्यापारीले किन्छन् र उनीहरुमार्फत तपाईं-हाम्रो भान्सासम्म आइपुग्छ । तर खेतबारीमा उत्पादित तरकारी किसानबाट थोकबजार, थोकबजारबाट खुद्राबजार हुँदै उपभोक्ताको भान्सासम्म आइपुग्दा कतै पनि विषादी परीक्षण हुँदैन ।

काठमाडौंका अधिकांश तरकारी बजारमा विषादी परीक्षणको व्यवस्था छैन । कालीमाटी तरकारी बजारमा भएको एउटा परीक्षण केन्द्र पनि तरकारी बिक्री भइसकेपछि मात्रै खुल्छ । यतिसम्मको लापरबाही त तपाईं-हामी कल्पना गर्नसम्म पनि सक्दैनौं ।

‘हामीले मन्त्री, सचिवलाई तरकारी बिक्री हुने सयममा परीक्षण गर्ने सुझायौं, तर त्यसो हुन नसक्दा प्रभावकारी हुन सकेको छैन,’ कालीमाटी तरकारी बजार विकास समितिका पूर्वसदस्य भगवानचन्द्र उप्रेतीले भने ।

मन्त्री र सचिव उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्दै क्वारेन्टिन जाँचमा तदारुकता देखाउँदैनन् भने उनीहरु कसको सेवा गर्न बसेका छन् ? उपभोक्तालाई विषादीयुक्त तरकारी खुवाएको चौतर्फी दबाबपछि सरकारले करिब आठ वर्षअघि काठमाडौंका कालीमाटीसहित सबैं प्रदेशमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरेको थियो । तर यस्ता प्रयोगशाला नाम मात्रैका छन् ।

नेपालमा स्थानीय उत्पादन र बाहृय मुलुकबाट समेत तरकारी आउँछन् तर कृषि मन्त्रालयले विषादी परिक्षणको नाटक गरेर आमउपभोक्तालाई ढाँटिरहेको छ ।

हामीले खाने खानेकुरामा विधिसम्मत ढंगले क्वारेन्टिन टेस्ट नहुँदा पछिल्ला वर्षहरुमा नसर्ने रोगको प्रकोप बढीरहेको स्वास्थ्य मन्त्रालयका रिपोर्टहरुले बताइरहेका छन् । सरकारकै एउटा मन्त्रालयको रिपोर्टप्रति अर्को मन्त्रालयको वास्ता नै छैन ।

खेतबारीदेखि भान्सासम्मको तरकारी यात्रामा किसानमा सचेतना, परीक्षणमा उन्नत प्रविधि र कडा नियमन नगर्ने हो भने कृषि मन्त्रालयको ढाँटढुँट कामले तपाईं-हाम्रो स्वास्थ्यमा जोखिम बढाउँदै लगेको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।