असोजको पानीले मधेशका हजारौं हेक्टरमा लगाइएका तरकारी बारीमा क्षति, चाडबाडका बेला तरकारीको मूल्य उच्च

कार्तिक २, २०८२ |कान्तिपुर टीभी संवाददाता
असोजको पानीले मधेशका हजारौं हेक्टरमा लगाइएका तरकारी बारीमा क्षति, चाडबाडका बेला तरकारीको मूल्य उच्च

जनकपुर । असोज महिनामा परेको ठुलो पानीका कारण हजारौं हेक्टरमा लगाइएको अर्बौं मुल्य बराबरको तरकारी बालीमा क्षति पुगेपछि तिहार छठ लगायतका चाडपर्वको मुखमा मधेशका बजारमा तरकारीको मुल्य निकै आकासिएको छ । 

यसरी चाडपर्वका समयमा बजार मुल्य आकासिँदा आम उपभोक्ता उच्च मुल्यमा किनेर खान बाध्य छन । एक त उत्पादनमा कमि अर्को तर्फ बजारमा व्यापारीहरूको मनोमानीले गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।

माग अनुसारको उत्पादन हुन नसकेका कारण बजारमा अरू समय पनि खाद्यानलगायत तरकारीको मुल्य बढ्ने गर्दछ । विशेष गरी चाडपर्वमा त झन लता कपडालगायत दैनिक उपभोग्य वस्तुको मुल्य उच्च हुने गर्दछ । चाडपर्वको मुखमा तरकारी तथा फलफुलको मुल्य आकासिनु त स्वभाविक नै भइसकेको छ । यसको प्रत्यक्ष प्रभाव उपभोक्ताको भान्सामा परेको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायतका बजारहरूमा भदौ महिनाको तुलनामा अहिले हरियो तरकारीको मुल्य लगभग दोब्बर भन्दा बढी जस्तै भएको छ । एक महिना अगाडी ५० रूपैयाँ प्रति किलो पाइने भेन्टा अहिले सय रूपैयाँ भन्दा बढी, ७० रूपैयाँमा पाइने परवलको भाउ १ सय ५०, ५० रूपैयाँमा पाइने बन्दागोभी अहिले सय रूपैयाँ प्रति किलो नाघेको छ । 

त्यसैगरी काउली १ सय ६०, तरूल २ सय, बोरी २ सय, फर्सी ८० र मुलाको भाउ सय रूपैया भन्दा बढी प्रति किलो पाउन थालेपछि न्यून आय भएका मजदुर वर्ग सबैभन्दा बढी मारमा परेका छन् । मिथिला मधेशमा माछा मासु भन्दा पनि तिहार, भाइटिका र छठ पर्वमा तरकारी र विभिन्न परिकारका तरूवा खाने चलन छ । तर, बजारमा तरकारीको मुल्यमा उच्च वृद्धि भए पनि बजार अनुगमन प्रभावकारी हुन नसक्दा मनोमानी बढेको उपभोक्ताहरूको गुनासो छ ।

मध्य असोज महिनामा भएको वर्षाका कारणले तरकारी बालीमा निकै क्षति पुगेको, सोचे अनुसारको उत्पादन हुन नसकेको र बाध्य भएर नेपाल र भारतका विभिन्न स्थानबाट आयात गर्नु परेका कारण तरकारीको भाउ अस्वभाविक रूपमा बढेको विक्रेताको भनाइ छ ।

विजया दशमी मनाइ रहँदा असोजमा परेको पानीका कारण मधेशको आठै जिल्लामा ३ हजार १ सय ७ दशमलव ६५ हेक्टरमा लगाइएको तरकारी वालीमा क्षति पुगेको थियो । वर्षात्‌ले २ अर्ब १२ करोड ३७ लाख ८२ हजार मोल बराबरको २८ हजार १ सय ४५ दशमलव ७४ मेट्रिक टन तरकारी नष्ट भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रारम्भिक अनुमान छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.