छठ पर्व नजिकिएसँगै महोत्तरीका कुम्हार समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ

बाँसका सामग्री बनाएर डोम समुदायले गरे मनग्गे आम्दानी
कार्तिक २, २०८२ |विकास आर्या
छठ पर्व नजिकिएसँगै महोत्तरीका कुम्हार समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ

महोत्तरी । घरघरमा दीपावली भित्रिएको छ भने छठ पर्व नजिकिएको छ । 

जसका कारण महोत्तरीका कुम्हार समुदायलाई माटोको सामग्री बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ । त्यस्तै डोम समुदायले पनि यो बेलामा बाँसका सामग्री बनाई बिक्री गरेर मनग्य आम्दानी गर्छन् । बजारमा पनि किन मेल गर्नेहरूको निकै भिड देखिन्छ ।

अन्य समयमा पुर्खौली पेशाबाट घर व्यवहार चलाउन नसकेर विरक्तिएका कुम्हार र डोम समुदायका मानिसहरू दीपावली र छठ नजिकिएपछि भने खुसी छन् । अहिले डोम समुदाय दीपावली छठका लागि बेतबाँसको चोयाबाट सामान बनाउन व्यस्त छन् । जसबाट उनीहरुलाई राम्रो आम्दानी हुन्छ । 

छठ नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ हुन्छ । यस्तोमा परिवारका सबै सदस्य मिलेर काम सम्पन्न गर्छन् । कात्तिक लाग्नेबित्तिकै बच्चादेखि बूढासम्म बिहानदेखि बेलुकासम्मै बाँसका विभिन्न सामग्री बनाउन तल्लीन भेटिन्छन् । तर वर्षभरी काम नचल्नाले भने फेरि केही दिनपछि दु:ख हुने गरेको उनीहरू बताउँछन् ।

कुम्हार समुदाय पनि दीपावलीका लागि माटोको दियो, कलश, कोहा, ढकना र छठका लागि हात्ती, कोशिया, कुरबार, कोहा, ढकना, दियो बनाउन व्यस्त छन् । माटोको सामग्री चाडपर्वको बेलामा बिक्री गरेर वर्षभरीको खर्च जुटाउन कुम्हार समुदाय यतिखेर व्यस्त छन् । 

माटोको सामग्रीको व्यवसायीकरण नभएकोले आफ्नो पेशाले परम्परागत मात्रै धानेको र अहिलेको महंगीमा माटोका सामग्री बनाउनेदेखि आगोमा पोलेर तयार पर्दासम्म माटो, दाउरा, रंगलगायत सबै कच्चा पदार्थ चर्को मूल्यमा खरिद गर्नुपर्छ । आफूहरूको पेशा व्यवसायीकरणका लागि कसैको ध्यान पुग्न नसकेको उनहरूको गुनासो छ ।

सरोकारवालाहरूले प्राथमिकतासहित बिक्री वितरणको नीतिगत व्यवस्था गरेमा यी समुदायहरूको जीवनस्तर माथि उकास्न टेवा पुग्ने देखिन्छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।