विपिन जोशीको शव आज दिउँसो काठमाडौं ल्याइँदै

श्रद्धाञ्जली दिन प्रधानमन्त्री कार्की विमानस्थल पुग्ने, शबलाई आजै धनगढी पठाइने
कार्तिक ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपिन जोशीको शव आज दिउँसो काठमाडौं ल्याइँदै

काठमाडौं । गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको शव आज दिउँसो नेपाल ल्याइने भएको छ । विपिनलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्की विमानस्थल जानु हुनेछ । आज दिउँसो साढे दुई बजे जोशीको शव फ्लाई दुबईमार्फत काठमाडौं आइपुग्नेछ ।

विपिनको पार्थिव शरीरको सम्मानपूर्वक व्यवस्थापन र स्थानान्तरणका लागि विमानस्थलमा सम्पूर्ण तयारी पूरा गरिएको छ।

विमानस्थल पुगेर प्रधानमन्त्री कार्कीले श्रद्धाञ्जली दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

विमानस्थलमा श्रद्धाञ्जली दिएर विपिनको शवलाई नेपाली सेनाको विमानमार्फत धनगढी लैजाने तयारी छ । त्यसपछि महेन्द्रनगर लगिने बताइएको छ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आकस्मिक आक्रमण गरेको थियो । त्यसबेला १० नेपाली विद्यार्थीसहित करिब १ हजार २ सयको मृत्यु भएको थियो । विपिनसहित २ सय ५१ जना हमासको नियन्त्रणमा परेका थिए ।

त्यो दिन बिहान साढे ६ बजेतिर एक्कासि मिसाइल आउन थालेपछि विपिनसहित उनका साथीहरु किबुज अलुमिमको बंकरमा बसेका थिए । त्यसको केही समयपछि स्थलमार्गबाट आएका हमासका लडाकुले आक्रमण गर्न थाले । नेपाली विद्यार्थीहरुले ‘वी आर नेपाली, वी आर नेपाली’ भनिरहँदा समेत उनीहरुले आक्रमण गरिरहे । पछि एउटा ग्रिनेड विपिनले टिपेर बाहिरतिरै फ्याँकिदिएका भिडियोमा देखिएको थियो । त्यहीबेला हमासले उहालाई अपहरण गरेको थियो ।

अमेरिकाको सहजीकरणमा युद्धविराम भएपछि उनी छुट्ने अपेक्षा गरिएको थियो । तर, जोशीको मृत्यु भइसकेको जानकारी हमासले दिएको भन्दै इजराइल डिफेन्स फोर्स (आईडीएफ) ले जोशीको परिवार, इजरायलस्थित नेपाली राजदूत र अरुलाई जानकारी गरायो । गत सोमबार हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.