आगामी वर्षको पुस-माघभित्र त्रिभुवन विमानस्थल कम्तीमा एक हप्ता बन्द हुने

फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
आगामी वर्षको पुस-माघभित्र त्रिभुवन विमानस्थल कम्तीमा एक हप्ता बन्द हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी वर्षको पुसदेखि माघभित्र कम्तीमा एक हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुन सक्ने भन्दै आवश्यक तयारी गर्न वायुसेवा प्रदायकलाई सूचना दिएको छ ।

हवाई यात्रुहरुले एक वर्ष अघिदेखि नै टिकट बुकिङ गरिसक्ने भएकाले अहिलेदेखि नै तयारी गर्न प्राधिकरणले आग्रह गरेको हो । विमानस्थलको उत्तरपश्चिममा अन्तर्राष्ट्रियस्तरको जहाज पार्किङ गरिने एप्रोन, अहिलेको धावनमार्गलाई दुवै विन्दु जोड्ने ट्याक्सी-वे र जहाजका लागि ह्यांगर क्षेत्र विस्तारको काम जारी छ ।

धावनमार्गसँग जोड्ने लिङ्क वे निर्माणको चरणमा तीन मिटर गहिरो खाल्डो खनेर पुर्नुपर्ने हुँदा जोखिम हुन सक्ने भन्दै विमानस्थल नै बन्द गर्नुपर्ने अवस्था आउने भन्दै पूर्वजानकारी गराइएको हो ।

विमानस्थल पूर्ण बन्द हुन्छ वा आंशिक भन्ने टुंगो भने लागेको छैन । अन्तर्राष्ट्रिय उड्डयन संगठन आइकाओको प्रावधान अनुसार वायुसेवा प्रदायकहरुलाई पहिले नै सूचना जारी गरिएको हो । पाँच वर्षअघि पनि चिनियाँ ठेकेदार कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जीर्णोद्धार गर्दा राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलबाट उडान बन्द गरिएको थियो ।

नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले त्रिभुवन विमानस्थलको स्तरोन्नतिमा काम गरिरहेको छ । निर्माण सकिएपछि पार्किङ अभावले आकाशमा जहाज होल्ड गराउनुपर्ने अवस्था रोकिने प्राधिकरणको दाबी छ । प्राधिकरणले काठमाडौंमा उडान रोक्नुपर्ने अवस्था आएमा भैरहवा र पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान गर्न सकिने बताएको छ ।

धावनमार्गको केन्द्रबाट ७५ मिटर दायाँबायाँ दुरीमा ३ मिटर गहिरो खाल्डो पुर्नु संवेदनशील काम हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.