विज्ञ भन्छन्- स्वदेशमै बिजुलीको प्रयोग बढाउन राज्यले पूर्वाधार निर्माणमा चासो देखाएन

फाल्गुन ७, २०८० |कान्तिपुर टीभी संवाददाता
विज्ञ भन्छन्- स्वदेशमै बिजुलीको प्रयोग बढाउन राज्यले पूर्वाधार निर्माणमा चासो देखाएन

काठमाडौं । नेपालमा उत्पादित बिजुली निर्यातभन्दा स्वदेशमै प्रयोग गर्न सकेमात्रै त्यसको उचित लाभ लिन सकिने विज्ञहरुले बताएका छन् । सरकारले भने अहिले सञ्चालनमा रहेका आयोजनाबाट वर्षातमा आवश्यकभन्दा धेरै उत्पादन हुने र हिउँदमा नपुग्ने हुँदा बेच्नुपर्ने अवस्था आएको जनाएको छ ।

आइतबार काठमाडौंमा भएको 'नेपाल र भारतबीचको विद्युत बिनिमयको आयाम' कार्यक्रममा ऊर्जाविद् रत्नसंसार श्रेष्ठले स्वदेशमा उत्पादित बिजुली बेचेर धनी हुने सपना मुलुकले देख्न नहुने बताए । सरकारले गत पुसमा १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली भारतमा निर्यात गर्ने गरी सम्झौता गरेको छ । १ युनिट बिजुली स्वदेशमा प्रयोग गरे त्यसले १ सय ३५ रुपैयााको प्रतिफल दिने तर यसलाई उपयोग नगरी न्यून मूल्यमा भारतमा बेच्दै आएको उनको तर्क छ ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भने अहिले मुलुकको आवश्यकता बिजुली बेच्नुपर्ने रहेको जिकिर गरे । स्वदेशकै आयोजनाबाट बाह्रै महिना बिजुली प्रयोग गर्न बर्सातमा बिजुली बेच्नुपर्ने स्थिति आएको उनको भनाइ छ ।

निजी क्षेत्रबाट आयोजना निर्माण गरिरहेका प्रवर्द्धकहरुले भने अहिले सरकार स्वदेशी लगानी आकषिर्त गर्ने गरी कानुन निर्माण गर्न चुकिरहेको आरोप लगाउँछन् ।

कार्यक्रममा सहभागी अन्य विज्ञहरुले स्वदेशमा बिजुलीको प्रयोग बढाउनका लागि राज्यले पूर्वाधार निर्माणमा चासो नदेखाएको बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.