काठमाडौं । नेपालमा फलफूल खानेको संख्या ३ प्रतिशतबाट बढेर ७ पुगेको छ । यसैगरी करिब २ प्रतिशत जनसंख्यासँग कार, २५ प्रतिशत जनसंख्यासँग मोटरसाइकल र २६ प्रतिशतभन्दा बढी नागरिकसँग रेफ्रिजेरेटर रहेको देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको चौथो जीवनस्तर सर्वेक्षणले फलफूल खानेको संख्या बढेको देखाएको हो ।
सर्वेक्षणअनुसार नेपालमा कुल जनसंख्याको २०.२७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेका छन् ।
यो कुल जनसंख्याको करिब ५८ लाख हो । यसअघि ०६६/६७ मा २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थिए । तर यसपटक गरिबीको रेखाको मापदण्ड परिवर्तन गरिएकाले अहिलेको तथ्यांक अघिल्लो सर्वेक्षणसँग तुलना गर्न नमिल्ने कार्यालयका प्रवक्ता हेमराज रेग्मीले जनाए ।
घरपरिवारको उपभोग, आम्दानी, सेवा सुविधामा पहुँच, आवास तथा आवासीय सुविधाको उपयोग, शिक्षा, स्वास्थ्य, रोजगारी, बचत तथा ऋण, विप्रेषण, जग्गाको स्वामित्व र उपयोगजस्ता सूचकका आधारमा गरिबीको मापन गरिएको हो ।
तथ्यांकअनुसार पाँचमध्ये एक नेपाली गरिबीको रेखामुनि रहेको देखिएको छ । सात प्रदेशमध्ये मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा गरिबीको दर राष्ट्रिय गरिबीको दरभन्दा बढी देखिएको छ । सुदूरपश्चिममा ३४.१६, कर्णालीमा २६.६९, लुम्बिनीमा २४.३५ र मधेशमा २२.५३ प्रतिशत रहेको छ ।
सरकारी तथ्यांक भन्छ- २०.२७ प्रतिशत जनसंख्या अझै गरिबीको रेखामुनि
सबैभन्दा कम गरिबी गण्डकीमा ११.८८ छ । यस्तै, औसत प्रतिव्यक्ति उपभोग खर्च ६६ प्रतिशतले वृद्धि भएको छ । १२ वर्षअघि ७५ हजार २ सय ९ रुपैयाँ रहेको उपभोग खर्च अहिले एक लाख २६ हजार १७२ रुपैयाँ पुगेको छ ।
१२ वर्षअघि ६१ प्रतिशतमा रहेको टेलिफोन तथा मोबाइलको पहुँच ९३ प्रतिशत पुगेको छ । कुल उपभोग खर्चमा खाद्यको अंश भने घटेको छ भने गैरखाद्यमा बढेको छ । कुल आम्दानीको ५३ प्रतिशत खाद्यान्नको जोहोमा खर्च गर्ने गरिएको देखिएको छ । यस्तो खर्च १२ वर्षअघि ६२ प्रतिशत थियो । त्यस्तै आम्दानीको १२ प्रतिशत अंश घरभाडामा खर्च हुने गरेको सर्वेक्षणले देखाएको छ ।