
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौता गरेर सरकारले एक अर्ब २० करोड बराबर मुनाफा गरेको दाबी गर्नुभएको छ ।
सोमबार संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री घिसिङले सो विद्युत खरिद सम्झौता गरेर सरकारले गैरकानूनी ढंगले ४३ करोड गुमाएको र यसमा ठूलै आर्थिक चलखेल भएको भन्ने आरोप सत्य नभएको जिकिर समेत गर्नुभयो ।
पिइसीको ८ रूपैयाँ १० पैसाको रेट भन्दा अहिलेको ६ रूपैयाँ ९५ पैसाको रेटले करिब १ अर्ब २० करोड मुनाफा दिएको उल्लेख गर्दै उहाँले त्यसलाई क्षतिको रूपमा लिन नसकिने समेत दोहोर्याउनु भयो । सरकारले तत्काल सो सम्झौता गरेर विद्युत खरिद नगरेको भए मुलुकमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउने मन्त्री घिसिङको भनाइ थियो ।
मन्त्री घिसिङले सरकारले आवश्यकअनुसार भारतसँग डे टु डे पनि विद्युत खरिद सम्झौता गर्ने गरेको बताउनु भयो । तत्कालको आवश्यकता पूर्ति गर्न सरकारले सो नीति लिने गरेको उहाँले स्पष्ट पार्नुभयो ।