
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अहिले अप्ठ्यारो स्थितिमा रहेको बताउनुभएको छ ।
मुस्लिम समुदायसँग नेपाली कम्युनिष्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश अप्ठ्यारो स्थितिमा रहेको बताउनुभएको हो । गत भदो २३ र २४ गतेको आन्दोलनपछि देशमा अप्ठ्यारो स्थिति आइरहेको उल्लेख गर्नुभयो । २४ गतेको विध्वंसपछि सिंगै नेपाली समुदायमा आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिन्ह खडा भएको उहाँले बताउनु भयो । राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल भएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले देश बडो अप्ठ्यारो स्थितिमा छ । तपाईंहरूले पनि महशुस गर्नुभएको होला । २४ गतेको विध्वंशपछि सिंगै नेपाली कम्युनिटीको आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिन्ह खडा भएको छ । यो स्थितिमा हामीले राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल हो राष्ट्र । राष्ट्र बचाउने जिम्मेवारी सबैको हो ।’
सहसंयोजक माधवकुमार नेपालले देशलाई जोगाउन सबैले प्रयास गर्न जरूरी रहेको बताउनु भयो । विभिन्न समयमा भीडलाई उत्तेजक बनाउने तत्वहरू सक्रिय रहेको भन्दै त्यसबाट जोगिनुपर्ने बताउनु भयो । सबैभन्दा पहिला नेपाली हाैँ भन्ने भावना जागरूक गर्न जरूरी रहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देशलाई हामीले जोगाउन भर मजबुर कोशिस गरिरहेका छाैँ । अनेक तत्वहरूले अनेक समयमा मान्छेलाई उत्तेजित बनाउन खोजे । त्यस्तो अवस्थामा फेरि पनि साम्प्रदायिक संवादलाई ध्यान दिनुपर्छ । जातिय सद्भावलाई ध्यान दिनुपर्छ । मिलेर बस्नुपर्दछ भन्ने मान्यतालाई अघि बढाउनुपर्छ । सबैभन्दा पहिला हामी नेपाली हौँ ।’
अध्यक्ष नेपालले मुस्लिम समुदायमा अघि बढ्ने सम्भावना भएकाहरूलाई आफूहरूले अग्रसर गरिरहेको बताउनु भयो ।