
काठमाडौं । वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमबार पनि धर्नामा बसेका छन् ।
सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन् । सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताएका छन् । सहकारी पीडितहरू वचत रकम फिर्ताको माग गर्दै गत शुक्रबारदेखि धर्नामा बस्दै आएका छन् ।
उनीहरूले सहकारी ‘वचतकर्ताको मागलाई राजपत्रमा प्रकाशित गर’, ‘पीडितलाई पीडा दिएर पीडकलाई साथ दिने राजनीतिक मतियार राजीनामा दे’ लगायत नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन् । आफूहरू रहरले नभइ दुःख गरी कमाएर भविष्यको लागि भनेर राखेको वचत फिर्ताको लागि आन्दोलनमा आएको उनीहरूको भनाइ छ । आन्दोलनरत एक सहकारी पीडितले राज्यले आफूहरूको पीडा नसुनिदिएको दुखेसो पोख्नुभयो ।