१ हजार ८०५ गिगावाट-आवर विद्युत् भारत निर्यात

मंसिर ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
१ हजार ८०५ गिगावाट-आवर विद्युत् भारत निर्यात

काठमाडौं । नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ हजार ८०५ गिगावाट-आवर विद्युत् भारत निर्यात गरेको छ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उर्जासचिव चिरञ्जीवि चटौतले उक्त जानकारी दिनुभएको हो । उहाँकाअनुसार विद्युत् व्यापारतर्फ नेपालले पहिलो त्रैमासिकमा १,८०५ गिगावाट-आवर विद्युत् भारत निर्यात गरेको छ । 

मनसुनकाे अवधिमा देशभित्र पर्याप्त उत्पादन हुने भएकाले आयात अत्यन्त न्यून रहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म नेपालले जम्मा २.८ गिगावाट-आवर मात्र विद्युत् आयात गरिएको छ । पहिलो त्रैमासिकमा ८६ मेगावाट विद्युत् उत्पादन थपिएको सचिव चटौतले जानकारी दिनुभयो । 

उहाँकाअनुसार ६६ केभी तथा माथिल्लो भोल्टेजका ३६ किलोमिटर ट्रान्समिसन लाइन तथा ३३ केभीका १३१ किलोमिटर ट्रान्समिसन लाइन निर्माण सम्पन्न भएको छ । मन्त्रालयले उर्जातर्फ विनियोजित ६ अर्ब ३० करोड ८० लाख रूपैयाँ बजेटमध्ये १५ दशमलब १६ प्रतिशत खर्च गरेको छ । उर्जा क्षेत्रमा भएको ४२ अर्ब २ करोड ४३ लाख रूपैयाँ वित्तीय लगानीमध्ये हालसम्म ६ दशमलव ५४ प्रतिशत प्रगति देखिएको उर्जासचिव चटौतले जानकारी दिनुभयो ।

उहाँले उर्जातर्फ बजेट रोकावटको कुनै समस्या नरहेको जानकारी दिनुभयो । बजेट रोकिएर उर्जा क्षेत्रका परियोजना प्रभावित नभएको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.