रामेछापमा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान, प्रभात फेरी र कोण सभामार्फत जनचेतना

मंसिर ९, २०८२ |नवराज श्रेष्ठ
रामेछापमा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान, प्रभात फेरी र कोण सभामार्फत जनचेतना

रामेछाप । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान मंगलबारदेखि रामेछापमा औपचारिक रूपमा सुरू भएको छ। 

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस (नोभेम्बर २५)को अवसरमा हरेक वर्षझैँ मनाइने अभियान यस वर्ष पनि जिल्लाभर विभिन्न कार्यक्रमसहित अघि बढाइएको छ। अभियानको पहिलो दिन सदरमुकाम मन्थलीमा सचेतनामूलक प्रभात फेरी तथा कोणसभा गरिएको थियो। मंगलबार बिहान मदन आश्रित चोकबाट सुरू भएको प्रभात फेरी मन्थली बजार परिक्रमा गर्दै जिल्ला समन्वय समिति परिसरमा पुगेपछि कोणसभामा परिणत भएको हो।

प्रभात फेरीमा सहभागीहरूले “सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसा अन्त्य गरौँ”, “प्रविधिको सही प्रयोग गरौँ- लैङ्गिक हिंसा रोकौँ” लगायतका सन्देशयुक्त प्लेकार्ड बोकेका थिए। कार्यक्रममा बोल्दै बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ र मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले अभियानको उद्देश्य लैङ्गिक हिंसासम्बन्धी जनचेतना अभिवृद्धि गर्नु, प्रविधिको सुरक्षित तथा सकारात्मक उपयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउनु र महिलाको अधिकार तथा सशक्तीकरणलाई अघि बढाउनु रहेको बताएका छन्।

अभियानको अवधिभर रामेछापमा विविध सचेतना कार्यक्रम, छलफल, अन्तरक्रिया र स्थानीय तहसँगको सहकार्यमा लक्षित समुदायमा पहुँच हुने गतिविधि सञ्चालन गरिने बताइएको छ ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।