धनकुटा । धनकुटामा रहेको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमका कृषि वैज्ञानिकले सुन्तला बालीको कार्बन सञ्चिति क्षमता मापन गरेका छन् ।
कृषि वैज्ञानिक डाक्टर उमेश आचार्य नेतृत्वको समूहले गरेको अध्ययनमा आठदेखि ५० वर्ष अवधिको सुन्तलाको एउटा बोटले विश्वव्यापीरूपमा भइरहेको उत्सर्जनको वार्षिक २३ किलोसम्म कार्बन सञ्चिति गर्न सक्ने नयाँ तथ्य पत्ता लागेको अनुसन्धान सहयोगी अमृत कटवालले जनाए ।
कृषि मन्त्रालयका अनुसार नेपालमा अहिले एक लाख ७५ हजार हेक्टरमा विभिन्न जातको फलफूल खेती भइरहेको छ । यसमध्ये ४९ हजार हेक्टरमा सुन्तलालगायत कागती, जुनार, ज्यामिर, भोगटेजस्ता अमिला जातका फलफूल खेती भइरहेको छ ।
यस्तै कुल २६ हजार हेक्टर सुन्तलाले ढाकेको छ । सुन्तलाले सञ्चित गर्न सक्ने कार्बन परिमाणबारे यसअघि नेपालमा अध्ययन-अनुसन्धान भएको थिएन ।