शिवश्री हाइड्रोपावरबाट १७२ घरघुरीले अझै पाएनन् मुआब्जा

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
शिवश्री हाइड्रोपावरबाट १७२ घरघुरीले अझै पाएनन् मुआब्जा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४, फुल्पिङ्कट्टीमा शिवश्री हाइड्रोपावर कम्पनी सञ्चालनमा आएको तीन वर्ष बित्दा पनि परियोजना निर्माणको लागि अधिग्रहण भएको जग्गाको मुआब्जा जग्गाधनीले अझै पाएका छैनन् ।

१७२ घरघुरी जग्गाधनीले हाइड्रोपावरबाट अझै मुआब्जा नपाएका हुन् । पटक-पटक विभिन्न सरकारी निकायमा धाउँदा पनि मुआब्जा पाउन नसकेको आयोजना प्रभावित नारायणबहादुर प्रधानलगायतको गुनासो छ ।

‘मुआब्जा आउला र आफूहरुलाई केही राहत होला भन्ने थियो । अहिलेसम्म मुआब्जाका नाममा हामीहरुले एक रुपैयाँ पनि पाएका छैनौं,’ स्थानीय कमलकुमार श्रेष्ठले भने ।

यसैबीच शिवश्री हाइड्रोपावरले मुआब्जा नदिएको भन्दै स्थानीय बासिन्दाले मुद्दा हालेपछि उच्च अदालत पाटनको आदेशले सडक स्तरोन्नतिको काम रोकिएको छ । यससँगै सडक स्तरोन्नतिका लागि विनियोजन भएको चार करोड रुपैयाँसमेत फिर्ता हुने जोखिम बढेको हिन्दी-नारायणथान-सेलाङकट्टी सडक उपभोक्ता समितिका अध्यक्ष देवीबहादुर बुढाथोकीले जनाए ।

शिवश्री हाइड्रोपावर कम्पनीले निर्माण गरेको २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाले २०७८ जेठ १ गतेदखि विद्युत् उत्पादन गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.