सुरु भयो बजेट तयारी

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
सुरु भयो बजेट तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट तयारी सुरु गरेको छ । फागुन १५ अघि नै विनियोजन विधयेकका सिद्धान्त र प्राथमिकता संसद्‌मा पेस गर्ने तयारी छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा राष्ट्रिय स्रोत अनुमान समितिको बैठक बसेर बजेटको तयारी सुरु गरिएको हो । यसै साता बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने र त्यसपछि आगामी आर्थिक वर्षको बजेटका विषयमा प्रवेश गर्ने अर्थ मन्त्रालय जनाएको छ । आगामी सातादेखि नै नयाँ बजेटको आकार र स्रोत पहिचानको काम सुरु हुने अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जनाए ।

उनका अनुसार फागुन १५ अघि नै सरकारले विनियोजन विधयेकका सिद्धान्त र प्राथमिकता संसद्‌मा पेस गर्ने तयारी गरेको छ । नयाँ बजेटको गृहकार्य गरिरहँदा चालु आर्थिक वर्षको खर्च भने निराशाजनक छ । ६ महिनामा सरकारको पुँजीगत खर्च २० प्रतिशत पनि पुग्न सकेको छैन । आयोजना व्यवस्थापनमा देखिएको समस्यामा कारण खर्च हुन नसकेको मन्त्रालयका प्रवक्ता शर्माको भनाइ छ ।

राष्ट्रिय योजना आयोगले फागुन पहिलो साता नै मन्त्रालयहरुलाई बजेटको सिलिङ दिँदै छ । १६औं योजनाले लिने लक्ष्यका आधारमा मन्त्रालयहरुलाई बजेटको सिलिङ दिई कार्यक्रम बनाउन लागिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.