नेपाल र स्विट्जरल्याण्डबीच हवाई सेवा सम्झौता

माघ २७, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाल र स्विट्जरल्याण्डबीच हवाई सेवा सम्झौता

काठमाडौं । नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा सम्झौता भएको हो ।

मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले दुवै मुलुकबीच सातामा २८ उडान हुनेगरी हवाई सेवा सम्झौता भएको जानकारी दिए । उनका अनुसार ती उडानमध्ये काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नुपर्नेछ ।

द्विपक्षीय हवाई सम्झौतामा दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको छ । ‘अहिलेलाई दुई–दुईवटा एयरलाइन्स तोकिएका छन् । आवश्यकताअनुसार थप्न सकिने प्रावधान छ । तेस्रो मुलुकमा उडान गर्नसक्ने ‘थर्डकन्ट्री कोड सेयर’ को प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ’, सहसचिव लामिछानेले भने ।

यससँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ । यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.