नेपाल कहिले होला धानमा आत्मनिर्भर ?

पुस २७, २०८० |सुमन पन्थ
नेपाल कहिले होला धानमा आत्मनिर्भर ?

काठमाडौं । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष धान उत्पादनमा उत्साहजनक वृद्धि भएको रिपोर्ट गत साता सार्वजनिक गर्‍यो । ५७ लाख टन अर्थात् अघिल्लो वर्षभन्दा ३ लाख टन बढी फलेको मन्त्रालयको तथ्यांक छ । तर, देशमा अझै ११ लाख टन धान अपुग छ ।

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष ५७ लाख २४ हजार २ सय ३४ मेटि्रक टन धान फलेको छ, जुन गत वर्षभन्दा २ लाख ७६ हजार टन बढी हो । गत वर्ष ५४ लाख ४७ हजार मेटि्रक टन धान फलेको थियो । अहिलेको उत्पादन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५ दशमलब शून्य ८ प्रतिशतले बढी भएको मन्त्रालयको भनाइ छ । तर, देशमा अझै ११ लाख टन धान अपुग छ । यही कारण माग धान्न उद्योगीले भारतबाट १० लाख टन सहुलियतको धान ल्याउन आग्रह गरिरहेको उद्योगी विभोर अग्रवाल बताउँछन् ।

नेपालीहरुले मसिनो चामल बढी उपभोग गर्छन् । तर, मोटा चामल बढी उत्पादन हुने भएकाले बजारसाग तालमेल हुन नसकेको मन्त्रालयको तर्क छ । कृषि विभागका पूर्वमहानिर्देशक डिल्लीराम शर्माले भने सरकारसँग ठोस रणनीति नहुँदा चाहिने जति उत्पादन हुन नसकेको बताएका छन् । अहिले प्रतिहेक्टर ३.८ टन रहेको धानको उत्पादकत्वलाई ४ टन पुर्‍याउन सके धानमा आत्मनिर्भर हुन सक्ने उनीहरुको भनाइ छ ।

विगतको तुलनामा यस वर्ष समयमै रासायनिक मलको उपलब्धता, बढ्दो उन्नत बीउको प्रयोग, रोगकिराको प्रकोपमा कमी, मौसमी अनुकूलताजस्ता कारण यसवर्ष धान उत्पादन बढेको मन्त्रालयले जनाएको छ । उत्पादन बढे पनि धान लगाउने क्षेत्रफल झनै घटेको छ । यस वर्ष गत वर्षको तुलनामा ८ हजार ८ सय हेक्टरले कमी आई १४ लाख ३८ हजार हेक्टरमा सीमित भएको छ । अपुग रहेको धान पूर्ति हुने गरी चैते धान उत्पादन वृद्धिका लागि स्थानीय तहसँग समन्वय भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माको भनाइ छ ।

देशभरको आँकडाले बढेको देखिए पनि पर्याप्त वर्षा नहुँदा अन्नभण्डार मानिएको मधेशमै यस वर्ष उत्पादन घटेको छ । जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चाप बढिरहेको छ । यो वर्ष उत्पादन बढेको देखिए पनि अझै अपुग भएकाले खेतीयोग्य भूमिमा सिाचाइ, उन्नत बीउ, उत्पादकत्व वृद्धि र यान्त्रीकरणमा जोड दिनुपर्ने विज्ञको सुझाव छ ।

* यसअघि असावधानीवश फरक तस्बिर पर्न गएकामा क्षमाप्राथीसहित सच्याएका छौं ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement