नेपालबाट संगठित साइबर अपराधको सञ्जाल चलाउँदै अन्तर्राष्ट्रिय गिरोह

माघ २९, २०८१ |रमेश धमला
नेपालबाट संगठित साइबर अपराधको सञ्जाल चलाउँदै अन्तर्राष्ट्रिय गिरोह

काठमाडौं । चार वर्षअघि नेपालमा साइबर अपराध र अनलाइन ठगीमा संगठित गिरोहका रूपमा सक्रिय चिनियाँ समूहमाथि कारबाही चलाएको प्रहरीले यसपटक काठमाडौं नै केन्द्र बनाएर ठगी धन्दा चलाइरहेको भारतीय गिरोहलाई नियन्त्रणमा लिएको छ । काठमाडौंको बूढानीलकण्ठमा घर नै भाडामा लिएर अनलाइन ठगीमा सक्रिय २३ जना भारतीय पक्राउ परेका हुन् ।

तर यो गिरोह कहाँबाट कसरी सञ्चालित छ भन्ने चाहिँ खुल्न सकेको छैन । तर यो समूहले एक महिनामै ३ अर्बभन्दा बढीको कारोबार गरेको तथ्यले भने थप अनुसन्धान गर्नुपर्ने देखाएको छ । साथै, साइबर ठगीका लागि काठमाडौंलाई अखडा बनाउने अन्य गिरोह पनि सक्रिय रहेको हुनसक्नेतर्फ पनि यो घटनाले शंका उब्जाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा पाँच दिनदेखि बूढानीलकण्ठमा रहेको एक एक घरमा शंकास्पद गतिविधि भइरहेको सूचना आयो । सूचनाको यकिन गर्न प्रहरीले निगरानी बढाए । खबर पक्का भएपछि परिसरको टोलीले आइतबार सो घरमा छापा मार्‍यो अनि खुल्यो अनलाइनबाट विदेशी ठग्ने धन्दाको अखडाको नालीबेली ।

मासिक २ लाख ७० हजार भाडा तिरेर लिइएको यही घरबाट २३ जना भारतीय नागरिक गिरफ्तार भएका छन् । घरभित्र भेटिए ८० थान मोबाइल । यी मोबाइलमा ३६० नामको एपमा मानिसहरूलाई जोड्ने र थोरै लगानी गरेर धेरै कमाउन सकिने प्रलोभन दिएर ठगीकै लागि बसेको पाइएका यी भारतीय नागरिकहरूले एकअर्कालाई भने चिन्दैनन् । तेस्रो देशका नागरिक ठगी गर्न नेपाललाई सुरक्षित स्थान बनाएका यी भारतीयलाई १७ देखि २५ हजार रुपैयाँसम्म पैसा दिएर राखिएको थियो ।

तर उनीहरू कसैलाई पनि घरबाहिर निस्किन भने बन्देज लगाइएको थियो । अनलाइन ठगी र साइबर अपराधको धन्दाबाट समूहले एक महिनामा ३ अर्ब १३ करोडको कारोबार गरेको प्रहरी अनुसन्धानबाटै खुलेको छ । यसअघि चिनियाँ नागरिक पक्राउ गरेको प्रहरीले अहिले भारतीय गिरोहले पनि अनलाइन ठगीका लागि नेपाललाई आश्रयस्थल बनाउनु गम्भीर विषय भएको बताएको छ ।

यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयले चिनियाँ नागरिकले अनलाइन ठगीकै लागि भारतीय नागरिकको बैंक खाता प्रयोग गरे बापतको पैसा नदिएको भन्दै काठमाडौंबाटै अपहरण गरेको घटना सार्वजनिक गरेको थियो । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार अनलाइन जुवा र क्रिप्टोको कारोबारको आरोपमा गत साउन यता ६३ जना पक्राउ परेका छन् । नेपाली पनि संलग्न रहेको अवैध क्रिप्टो कारोबारमा अब चिनियाँ र भारतीय गिरोह पनि जोडिएको पाइएपछि अनुसन्धान थप जटिल बनेको छ । भारतीय गिरोहले जागिरकै प्रलोभन दिएर भारतीयलाई नै हवाइजहाजबाट नेपाल ल्याउने गरेको खुलेको छ ।

एक पटकमा चारदेखि पाँच जनासम्मलाई ल्याएर सीधै घरमा लैजाने र बन्द गरेर राख्ने गरेको तथ्यले भित्र कुनै गम्भीर अपराधको योजना बन्न सक्ने जोखिम समेत निम्त्याएको छ । विदेशबाट आएर अपराधमा संलग्न रहेको आरोपमा हरेक वर्ष चार सयभन्दा बढी विदेशी कारबाहीमा परिरहेका छन् । तर नेपालको भूमि प्रयोग गरेर अर्को देशमा अपराध गर्ने शैलीले गम्भीर बनाएको प्रहरीको बुझाइ छ ।

चार वर्षअघि अनलाइन ठगीमै संलग्न रहेको आरोपमा १२२ चिनियाँ एकसाथ पक्राउ परेका थिए । साइबर अपराध नियन्त्रण प्रहरीका लागि चुनौती बनिरहेकै बेला विदेशीहरूले समेत नेपाललाई नै अखडा बनाएको भेटिनुले साइबर अपराध र अनलाइन ठगीको सञ्जालमाथि गम्भीर अनुसन्धान आवश्यक भएको देखिएको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement