काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरूको साथ रहेको दाबी गर्नुभएको छ ।
शनिबार पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.को तर्फबाट काठमाडौंमा पत्रकार सम्मलेन गर्दै उहाँले तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताउनु भएको हो । उहाँले ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनुपर्छ भन्नेमै रहेको बताउनु भयो ।
ढकालले ताप्लेजुङ भन्दा बाहिरका र विदेशमा बस्नेहरूले त्यहाँको विकासको उपयोग गर्ने तर नेपालमा हुन लागेको विकासको विरोध गरिरहेको आरोप लगाउनु भयो । ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुनेकुरा महत्वपूर्ण रहेको बताउनु भयो ।
ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको बताउनु भयो । उहाँले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा नै सहयोग पुग्ने बताउनु भयो । उहाँले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने उल्लेख गर्नुभयो । ताप्लेजुङवासीले पाउने अवसरमा खेलवाड गर्न बाहिर बस्ने नेपालीहरू लागिरहेको बताउनु भयो ।
‘ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ बनाउन खोजेको हो । त्यो लगानीलाई ताप्लेजुङ बाहिरका व्यक्तिबाट इस्यु निकालिएको छ । त्यो ताप्लेजुङको लागि दुःख लाग्दो कुरा हो,’ अध्यक्ष ढकालले भन्नुभयो ।
उहाँले पाथीभरमा केबलकारसम्बन्धी संरचना गलत हिसाबले नबनाइएको पनि स्पष्ट पार्नुभयो । उहाँले पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.ले बनाउने सबै संरचना प्रकृतिमैत्री हुने दाबी गर्नुभयो ।
अध्यक्ष ढकालले सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनका लागि केबलकार बनाउन लागेको बताउनु भयो । नेपालमा आउने पर्यटकहरूलाई भएका सम्पदाहरू अवलोकन गराउने वातावरण बनाउन खोजेको बताउनु भयो । केबलकारले पाथीभरको धार्मिक आस्थामाथि प्रहार नगर्ने स्पष्ट पार्नुभयो । पाथीभराप्रतिको आस्थालाई थस साथ दिन र सबै नेपालीलाई सहज हिसावमा लैजाने व्यवस्थाका लागि मात्रै केबलकार बनाउन लागिएको बताउनु भयो ।
पाथीभरा केबलकारको लागत अनुमान करिब तीन अर्बको रहेको जानकारी दिनुभयो । उहाँले एक वर्षभित्रमा पाथीभरा केबलकार निर्माण गरी मन्दिरको दर्शन गराइने बताउनु भयो ।