बेतको फर्निचर बनाएर मनग्य आम्दानी, मागसँगै लगानीसमेत बढ्यो

माघ २८, २०८१ |कमल पन्थी
बेतको फर्निचर बनाएर मनग्य आम्दानी, मागसँगै लगानीसमेत बढ्यो

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाको कर्णाली नदी तटीय क्षेत्र र सामुदायिक वनमा रहेको बेत केही वर्ष अघिसम्म खेर जाने गरेको थियो । तर अहिले बेतबाट फर्निचर बनाउन थालिएको छ । उद्योगीले बेतबाट कुर्सी, टेबुल, हेंगरलगायतका सामग्रीको व्यवसायिक उत्पादन गरेर आम्दानी लिइरहेका छन् ।

बेतबाट बनाइएका सोफा, कुर्सी, मुढा, हेंगरलगायत फर्निचरको माग बढ्दै गएपछि बर्दियाको राजापुरमा उद्योग फस्टाउन थालेको छ । बेतबाट बनेका फर्निचर बेचर मासिक राम्रो आम्दानी हुन थालेपछि उद्योगमा लगानीसमेत बढ्न थालेको हो ।

सुरुमा यसको महत्व खासै थिएन । तर थोरै लगानीमा राम्रो आम्दानी भएपछि बेत उद्योगमा व्यवसायी उत्साहित बन्दै गएका छन् । तर कच्चा पदार्थ अभावमा मागअनुसार आपूर्ति हुन नसकेको बर्दिया राजापुरका उद्योगी मोहनबहादुर केसीको गुनासो छ ।

कर्णाली नदीको तटीय क्षेत्रको सामुदायिक वनमा प्राकृतिकरुपमा फैलिएको बेतको प्रयोग हुन थालेपछि सामुदायिक वनको आम्दानी पनि बढेको छ । यहाँ उत्पादित बेतका फर्निचर सुर्खेत, दाङ्ग, बुटवल, नेपालगन्ज र काठमाडौंसम्म पुर्‍याउने गरिएको छ । सामूदायिक वनबाट हुने लिलाम प्रक्रियाले ठूलो मात्रामा बेत खरिद गर्न सक्ने अवस्था नभएको राजापुरका व्यवसायी अरुणकुमार रस्तोगीको गुनासो छ ।

गत वर्ष जिल्लाका सामुदायिक वनबाट करिब २ सय क्विन्टल बेत उत्पादन भएको थियो । यसको उत्पादन बढाउनका लागि कार्ययोजना बनाउन सके वार्षिक १ हजार क्विन्टल उत्पादन गर्न सकिने अवस्था रहेको डिभिजन वन कार्यालय, बर्दियाका कार्यालय प्रमुख विजयराज सुवेदीले बताउनु भयो ।

यहाँ उत्पादित बेत भारतमा समेत निर्यात हुने गरेको छ । कच्चा पदार्थ पर्याप्त प्राप्त गर्न सके मनग्ये आम्दानी गर्न सकिने व्यवसायी बताउँछन् ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement