इन्टरनेट सुरक्षामा हेलचेक्र्याइँले व्यक्तिगत विवरणदेखि राष्ट्रिय तथ्यांक समेत असुरक्षित

माघ २९, २०८१ |किरण पौडेल
इन्टरनेट सुरक्षामा हेलचेक्र्याइँले व्यक्तिगत विवरणदेखि राष्ट्रिय तथ्यांक समेत असुरक्षित

काठमाडौं । इन्टरनेटबिना हाम्रो दिनचर्या असम्भव जस्तै भइसकेको छ । सूचना र मनोरञ्जनका लागि मात्र होइन, बैंकिङ कारोबारसम्मका हर कुरामा इन्टरनेट चाहिन्छ । आज इन्टरनेट सुरक्षा दिवस मनाइरहँदा हामीले प्रयोग गर्ने गरेको इन्टरनेट कति सुरक्षित छ त ? अनि, यसको असुरक्षित प्रयोगबाट हुने सम्भावित जोखिमबाट जोगिन के गर्ने ?

इन्टरनेट सुरक्षा भनेको इन्टरनेट प्रयोग गर्दा डेटा, उपकरण र प्रयोगकर्ता सम्भावित जोखिमबाट कसरी सुरक्षित हुने भन्ने हो । यसको मुख्य उद्देश्य अनधिकृत पहुँच रोक्ने, संवेदनशील जानकारी सुरक्षित राख्ने, र साइबर आक्रमणहरू जस्तै ह्याकिङ, फिसिङ, मालवेयर, र्‍यान्समवेयर, डिनायल-अफ-सर्भिस आक्रमणबाट बचाउनु हो । त्यसो भए इन्टरनेटलाई सुरक्षित रूपमा कसरी प्रयोग गर्ने र असुरक्षित प्रयोगबाट हुनसक्ने साइबर आक्रमणको सम्भावित जोखिमबाट जोगिन के गर्ने, के नगर्ने ?

“पासवर्ड बलियो राख्ने, एकै किसिमको पासवर्ड धेरै ठाउँमा प्रयोग नगर्ने, अपरिचत व्यक्तिले पठाएको लिंक नखोल्ने, खुला इन्टरनेट प्रयोग नगर्ने लगायतका विषयमा सामान्य विचार पुर्‍याए पनि साइबर आक्रमणको सम्भावित जोखिमबाट जोगिन सकिने छ”, साइबर सुरक्षाविज्ञ विजय लिम्बूले बताउनुभयो ।

२०८० फागुनमा नेपालको केन्द्रीय डेटा सेन्टर अर्थात् जीआईडीसीमा साइबर आक्रमण भयो । जसका कारण विमानस्थल अध्यागमन कार्यालयको काम नै ठप्प भयो । गत मंसिरमा पनि राहदानी विभागको डाटा प्रणालीमा समस्या देखिँदा ३ हप्तासम्म राहदानी वितरण ठप्प भयो । यी घटना नेपालको राष्ट्रिय सुरक्षामा बढ्दै गएको साइबर सुरक्षा जोखिमका उदाहरण हुन् । जसलाई राज्यसत्ता संचालनमा रहेकाहरू नै स्वीकार्छन् । हाल परराष्ट्रमन्त्री रहेकी आरजु राणाले २ वर्षअघि भन्नुभएको थियो, “मैले सेनाका जर्साबको इमेल टर्कीको डार्क वेबमा देखें ।”

राष्ट्रिय सुरक्षासँगै बालबालिका तथा युवाहरू अनलाइन ठगी, सेक्सटोर्सन, अनलाइन अन्तरङ्ग सम्बन्धजन्य हिंसा तथा डीपफेक, यौन दुरुपयोग जस्ता घटनाका शिकार हुन थालेका छन् । तर सरकार यस्ता विषयमा गम्भीर नभएको चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशी बताउनुहुन्छ ।

देश विदेशबाट नेपालको साइबर स्पेसमा विभिन्न नेटवर्कबाट आक्रमण हुने क्रम रोकिएको छैन । सरकार, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक, बैंक, एअरलाइन्स लगायतका कम्पनीका सिस्टम ह्याकरको निशानामा परिरहेका छन् । कतिपय अवस्थामा नेपाल साइबर अपराधको अखडा बन्ने हो कि भन्ने प्रश्न पनि उठ्न थालेका छन् । साइबर सुरक्षाविज्ञ आशिष खनाल साइबर कानुन नहुँदा र सरकारको नीति समेत स्पष्ट नहुँदा समस्या भए‍को बताउनुहुन्छ ।

इन्टरनेट सुरक्षाका जोखिम बढिरहँदा पनि सरकारले साइबर सुरक्षा सम्बन्धी कानुन अघि बढाएको छैन । गत वर्ष नै तयार पारिएको मस्यौदामा साइबर सुरक्षा सम्बन्धी घटनामा तत्काल प्रतिकार्य र सहायताका लागि समन्वय समिति बनाउने, साइबर सुरक्षा केन्द्र बनाउने, साइबर स्पेसमा निषेध कामको नियमन गर्ने उल्लेख थियो । अन्तर्राष्ट्रिय गिरोहले पटक-पटक नेपाललाई केन्द्र बनाएर साइबर अपराध गरिरहेका छन् । तर सरकारी निकायले भने इन्टरनेट सुरक्षा सुदृढ बनाउनेभन्दा घटना लुकाउने गरेको छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement