काठमाडौं । भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने जनता समाजवादी पार्टी (जसपा), नेपालको निर्णयले सरकार अप्ठ्यारोमा परेको छ । संघीय संसद्को हिउँदे अधिवेशन सुरू हुनु ६ दिनअघि अध्यादेश ल्याएको भन्दै विपक्षीले आलोचना गरिरहँदा अब सत्तापक्षकै असहयोगले सरकारलाई भूमि सम्बन्धी अध्यादेश निल्नु न ओकल्नु जस्तो हुँदैछ ।
संघीय संसद्को दुवै सदनमा पेश भएको अध्यादेश दुवै सदनले स्वीकार नगरेको अवस्थामा स्वतः निष्क्रिय हुने व्यवस्था छ । राष्ट्रिय सभामा निर्णायक रहेको जसपा नेपाल पछि हटेपछि अध्यादेश मात्रै हैन, सरकारमाथि नैतिक संकट सिर्जना भएको छ ।
पुस २४ मा ल्याएका भूमि सम्बन्धी सहित ६ वटा अध्यादेशलाई माघ १८ मा संसद्मा दर्ता गरेको सरकारले २४ गतेको दोस्रो बैठकमै पेश गरेर पारित गर्ने निर्णय नै गरेको थियो । तर, राष्ट्रिय सभामा निर्णायक रहेको जसपा नेपालले निर्णय नगरेपछि सरकारलाई पहिलो गाँसमै ढुंगा जस्तै भयो । अध्यादेश २४ को संसद् बैठकको कार्यसूचीबाटै हटाइयो । त्यसपछि सरकारले फकाइरहने र जसपा नेपालले पनि मोलमोलाइ गरिरहने क्रम चलिरह्यो ।
यो बीचमा संसद्का कुनै पनि बैठकमा अध्यादेशलाई कार्यसूचीमा राखिएन । तर, मंगलबार जसपा नेपालले भूमि सम्बन्धी अध्यादेश भूमाफियालाई पोस्न ल्याएको ठहर सहित समर्थन नगर्ने निर्णय गरेपछि सरकार अप्ठ्यारोमा परेको छ ।
“चुरे सिध्याउन, दोहन गर्न, रियल स्टेट व्यापारीलाई पोस्न, गरिबका पक्षमा नभएकोले सहयोग नगर्ने निर्णय भयो । दशौं हजार जमिन हिनामिना हुने स्थिति देखिएको छ”, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।
राष्ट्रिय सभामा बहुमतका लागि ३० मत आवश्यक पर्नेमा सत्ता गठबन्धनको २८ मत छ । जसपा नेपालका ३ सदस्यले समर्थन गर्दा बहुमत पुग्ने स्थिति थियो । तर, अब सरकारलाई नैतिक संकट सिर्जना भएको छ ।
सरकारका मन्त्रीहरू भने जसपा नेपाल अझै पनि अध्यादेशको समर्थनमा आउने विश्वासमा छन् ।
सरकारले ल्याएका अध्यादेश विरुद्ध दुवै सभामा ६६ वटा अस्वीकार प्रस्तावको सूचना समेत दर्ता सभएका छन्, जसमा सांसदहरूले भूमि सम्बन्धी अध्यादेशमा सरकारी जग्गा कार्यकर्तालाई बाँड्ने प्रपञ्च रचिएको भन्दै सरकारी नियतमाथि नै प्रश्न गरिएको छ । तर, सरकार यस्ता आशंका र अविश्वास चिर्न छाडेर जसपा फकाउन निरन्तर लाग्यो ।
अहिले जसपाले नै सहयोग नगर्ने निर्णयपछि एकातिर सरकारको विश्वसनीयतामै प्रश्न उठेको छ भने झन्डै दुईतिहाइ बहुमतको सरकार नै कमजोर स्थितिमा देखिएको छ ।