धनकुटा । धनकुटाको ८९ हजार हेक्टर क्षेत्रफलमध्ये २८ हजार हेक्टर जमिन व्यावसायिक कफी खेतीका लागि उपयुक्त मानिन्छ । यसमध्ये पनि १२ हजार हेक्टरमा त विदेशमा समेत उच्च माग रहेको स्पेसियालिटी कफी उत्पादन गर्न सकिन्छ । यद्यपि उच्च मूल्य र बजार सिर्जना गर्न सक्ने यो बालीको क्षेत्र बिस्तार र उत्पादन भने धनकुटामा एकदमै न्यून छ ।
धनकुटा जिल्लाको कुल क्षेत्रफल मध्ये ३१ प्रतिशतभन्दा बढि जमिन कफि खेतीका लागि उपयुक्त मानिन्छ । माटो, हावापानी र अन्य व्यवस्थापकीय अनुकुलता भएपनि जिल्लाभर जम्मा तीन सय ६० हेक्टर क्षेत्रफलमा मात्रै कफि खेती भइरहेको छ । यसबाट बाषिर्क जम्मा १० टन कफि उत्पादन हुन्छ । प्रसस्त सम्भावना भएपनि ५० बोट भन्दा बढि कफी लगाउँने ६ सय १५ जना किसान रहेको धनकुटामा व्यवसायिक विस्तारमा लाग्नेको संख्या एकदमै न्यून छ ।
भीरगाउँका टीकाराम दर्नालले भने, ‘१२० रोपनी जग्गामा १२ हजार कफी लगाएका छौं । अहिले साढे पाँच हजार बिरुवाले आम्दानी दिइरहेको छ। अहिले हामीसँग भएको अरबिकाको बोरबन जातको हो ।’

एक पटक रोपेपछि वर्षौंसम्म निरन्तर आम्दानी लिन सकिने बहुवर्षीय बाली हो कफी । एभोकाडो र रुद्राक्ष जस्ता वनस्पतीको छायाँमा पनि तलेबालीका रुपमा कफी खेती गरि आम्दानी लिन सकिन्छ ।
धनकुटामा धार्मिक, निजी र सामुदायिक गरि झण्डै साढे चार सय वन छन् । अहिले यस्ता वनमासमेत सामूहिक कफी खेतीको बहस सुरु भएको छ ।
धनकुटा जिल्ला कफी व्यवसायी संघका अध्यक्ष युवराज दर्नाल भन्छन्, ‘अहिले निजी जमिनमा ३६० हेक्टरमा कफी खेती लगाइएको छ। जसको १५ लाख कफीका बेर्ना हुन्छन् । सामुदायिक वनमा ५० हेक्टरमा कफी खेती गर्न सकिन्छ। तर अहिले सामुदायिक वनमा कफी खेती गर्न सकिएको छैन ।’
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चालु आर्थिक वर्षका लागि फ्रेस चेरी ९० देखि एकसय रुपैयाँ, पार्चमेन्ट कफीको ४ सय ५० देखि ५ सय रुपैयाँ र ड्राइचेरीको समर्थन मूल्य एक सय ५० देखि दुई सय रुपैयाँ तोकेको छ । किसानलाई कफी खेतीको महत्व बुझाएर आवश्यक प्राविधिक सहयोग, कर्जा सुविधा, उत्पादन बेच्ने भरपर्दो बजार व्यवस्थाका लागि सरकारी सहयोग र प्रोत्साहनको खाँचो छ ।