भन्सारमा जाँचपास नभएका १५ सय सवारीसाधन थन्किए

आर्थिक मन्दीले क्रयशक्ति घट्दा राजस्व असुली घट्यो
मंसिर २३, २०८० |कान्तिपुर टीभी संवाददाता
भन्सारमा जाँचपास नभएका १५ सय सवारीसाधन थन्किए

पर्सा । आर्थिक मन्दीका कारण व्यवसायीले भन्सार जाँचपास गराउन नसकेपछि वीरगन्ज भन्सारमा अहिले एक हजार पाँच सयभन्दा बढी सवारीसाधन थन्किएका छन् ।

साना, मझौला र ठूला गरी एक हजार ५५० वटा चारपांग्रे सवारीसाधन वीरगन्ज भन्सारको एकीकृत सुरक्षा जाँचचौकी आईसीपीमा आयातकर्ताले जाँचपास गराउन नसकेर थन्किएका हुन् । बजारमा नयाँ सवारीसाधनको माग घट्नु र भन्सार राजस्व तिर्न आयातकर्तासँग रकम अभाव हुनुले ती सवारीसाधन थन्किएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीको भनाइ छ ।

‘गत वर्ष भदौदेखि हाम्रो अर्थतन्त्रमा संकुचन आएको छ । माग पनि घट्दै गएकाले पनि सवारीसाधानहरु जाँचपास नभएर थन्किरहेका छन्,’ उनले भने, ‘चालु आर्थिक वर्षको अहिले (मंसिर २० गते) सम्मको तथ्यांक हेर्दा अलिकति सुधार भएको हो कि जस्तो देखिएको छ ।’ उनका अनुसार चालु आर्थिक वर्षमा वीरगन्ज भन्सारबाट करिब १५ सय सवारीसाधन जाँचपास भएका छन् । जसमा करिब दुई सय जति इलेक्ट्रोनिक सवारीसाधन रहेका छन् ।

राजस्व असुलीको मुख्य स्रोत आयात व्यापार भएको वीरगन्ज भन्सारको कुल राजस्व असुलीमा सवारीसाधनले २५ प्रतिशतसम्म योगदान दिने गरेको छ । सवारीसाधन आयातमा गिरावट र आयात भएकाको पनि भन्सार जाँचपास नहुँदा त्यसको असर राजस्व असुलीमा परेको छ ।

‘चालु आर्थिक वर्षमा यसको फिगर अलि तलमाथि हुने सम्भावना देखिएको छ,’ वीरगन्ज भन्सार प्रमुख पन्थीले भने ।

आईसीपी यार्डमा थन्किएका एक हजार ५५० चारपांग्रे सवारीसाधनमध्ये ८६० वटा त गत आर्थिक वर्षमै आयात भएका हुन् । गत वर्ष भन्सार छुटाउन बाँकी र चालु आर्थिक वर्षको मंसिर २० गतेसम्म आयात भएका गरी दुई हजार ३१५ सवारीसाधनमध्ये ७६५ वटाको मात्रै चालु आर्थिक वर्षमा भन्सार पास भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.