कफी खेतीमा नेपाली किसान किन आकर्षित भएनन् ?

मंसिर १, २०८० |सुमन पन्थ
कफी खेतीमा नेपाली किसान किन आकर्षित भएनन् ?

काठमाडौं । नेपालमा कफी उत्पादन हुन थालेको २८ वर्ष भयो । गुणस्तरमा विश्वकै उत्कृष्ट मानिएको नेपाली कफी युरोप, अमेरिकादेखि जापानसम्म पुग्ने गरेको छ भने ४३ जिल्ला कफी खेतीका लागि उर्बर मानिन्छन् । तर, प्राविधिक सेवा र किसानलाई आकर्षित गर्न नसक्दा नेपालमा अझै ३२ करोडको कफी आयात हुने गरेको छ ।

समुद्री सतहको ८ सय मिटरदेखि १५ सय मिटरसम्म कफी खेतीको प्रचुर सम्भावना रहेको कृषि प्राविधिकहरुको अध्ययन छ । यस हिसाबले नेपालका ४३ जिल्ला कफी खेतीका लागि उर्वर मानिन्छन् । सामुदायिक वनदेखि अन्नबाली नहुने क्षेत्रमा समेत कफी खेती गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने भए पनि नेपालमा यसप्रति आकर्षण बढ्न सकेको छैन । किसानसम्म प्राविधिक सेवा नपुग्नु, लगानी अभावजस्ता कारणले कफी खेती गर्ने किसानसमेत टिक्न सकेका छैनन् ।

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कफी खेती गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँची पर्वत, कास्की, ललितपुर, सिन्धुपाल्चोकलगायत जिल्लाबाहेक अन्यत्र व्यावसायिक रुपमा विस्तार हुन सकेको छैन । नेपालमा वार्षिक करिब चार सय टन कफी उत्पादन हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक छ ।

उत्पादन कम भए पनि विशिष्ट स्वादका कारण नेपाली कफीको माग विश्वबजारमा छ । वार्षिक १३ करोडको कफी युरोप, अमेरिकादेखि जापानसम्म पुग्ने गरेको छ । तर, ३२ करोडको कफी अन्य मुलुकबाट भित्रने गरेको छ । उत्पादन बढाउने विषयमा स्थानीय सरकारसँग साझेदारी गर्ने कार्यक्रम बोर्डको भए पनि प्रभावकारी हुन सकेको छैन ।

नेपालमा वार्षिक तीन खर्बभन्दा बढीको कृषिजन्य वस्तुको आयात हुने गरेका छन् । कफीजस्ता विश्वबजारमा प्रख्यात कृषि उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै निर्यात बढाएर व्यापार घाटा कम गर्नेतर्फ तीनै तहका सरकारको ध्यान जानु आवश्यक छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।