रूपन्देहीमा सञ्चालित चार उद्योगले तिर्‍यो डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता

कार्तिक १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूपन्देहीमा सञ्चालित चार उद्योगले तिर्‍यो डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका रूपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । 

नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरेका हुन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो किस्ता तिरेपछि उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको छ ।

ती उद्योगले २०७२ माघदेखि २०७५ साल वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका कार्यकारी निर्देशक सिलवालले बताउनुभयो । प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको एक करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका छन् ।

यसैबीच, लामो समयदेखि जारी डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विवाद सुल्झाउन निजी क्षेत्रले मध्यमार्गी प्रस्ताव अघि सारेको छ । प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका उच्च अधिकारीसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघले पहिलो किस्ता बराबरको रकम बुझाउने उद्योगको लाइन जोड्ने मध्यमार्गी प्रस्ताव अघि सारेको हो । 

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नबुझाउने २३ उद्योगको बिजुली काटेको १४ दिनपछि महासंघले उद्योगको लाइन जोड्ने पहल गरेको हो । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी हुनुहुन्थ्यो ।

२३ वटा उद्योगको अहिले बक्यौता नतिरेका कारण लाइन काटिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.