
काठमाडौं । धनतेरस पर्वको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा भएको घटनामा निष्पक्ष छानबिन गर्न माग गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएको छ ।
संघले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै जनकपुरधाममा बजार व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिएको हो । संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीद्वारा गरिएको दमन तथा कुटपिटविरूद्ध जनकपुरधाम उद्योग वाणिज्य संघ र जनकपुरधामका व्यापारीहरू दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बजार व्यवसाय बन्द गरेका हुन् ।
जनकपुरधामका व्यापारीहरू बिहान ९ बजेदेखि १२ बजेसम्म आ-आफ्नो व्यापारिक प्रतिष्ठान बन्द गरी विरोध जनाएका छन् । त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा नगरमा व्यापारीहरूले विरोध र्याली समेत निकालेका थिए । संघको आह्वानमा जनकपुरधामका व्यापारीहरू पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत व्यापारिक प्रतिष्ठानमा कालो झन्डा झुन्ड्याएर कालोपट्टी बाँधेर व्यवसाय सञ्चालन गरी तीन दिनसम्म विरोध जनाएका थिए ।
धनतेरस पर्वको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाको आधारमा छापा मारेको थियो । छापाको क्रममा एक पसलबाट प्रहरीले ७ किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरू प्रतिवादमा उत्रिएका थिए । प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएर व्यापारीहरू प्रतिवाद गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
सोही क्रममा प्रहरीको कुटाइबाट जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते हुनुभएको थियो ।