३ महिनामा थपियो १ खर्ब सार्वजनिक ऋण

कार्तिक ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
३ महिनामा थपियो १ खर्ब सार्वजनिक ऋण

काठमाडौं । सरकारले साउनयता मात्रै एक खर्ब ६ अर्ब ऋण थपेको छ । बाह्य दातृ निकायबाट ९ अर्ब ४७ करोड ऋण लिएको सरकारले आन्तरिक बजारबाट असोज मसान्तसम्म ९७ अर्ब ३१ करोड लिएको छ ।

सरकारले तीन महिनामा आन्तरिक ऋणको ४२ अर्ब ८४ करोड सावा भुक्तानी गरेको छ । त्यस्तै १३ अर्ब ७१ करोड रकम आन्तरिक ऋणको ब्याज भुक्तानीका लागि खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

त्यस्तै बाह्य ऋणको ८ अर्ब ७० करोड सावा र दुई अर्ब ४४ करोड ब्याज तिरेको छ । सरकारले विकास निर्माणमा गरेको खर्चभन्दा दोब्बर रकम अर्थात् ६८ अर्ब ६९ करोड रकम त उठाएको ऋणको सावा ब्याज भुक्तानीमै खर्च गरेको छ ।

एक खर्ब ६ अर्बको नयाँ ऋणसमेत जोड्दा सरकारले तिर्न बाँकी कुल ऋण २३ खर्ब ५४ अर्ब पुगेको छ । जसमध्ये ११ खर्ब ८३ अर्ब आन्तरिक ऋण र ११ खर्ब ७१ अर्ब बाह्य ऋण छ । १० वर्षअघि २०७० सालमा भने सरकारको कुल ऋण ५ खर्ब ५३ अर्ब मात्रै थियो ।

१० वर्ष अघि कुल ऋणमा आन्तरिक ऋणको हिस्सा ४० प्रतिशत हुने गरेकामा अहिले ५० प्रतिशत पुगेको छ । स्रोतको जोहो गर्न सरकारले अहिले बैंकमा तरलता थुप्रिएको मौका पारेर आन्तरिक ऋण उठाउने क्रम तीव्र पारेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement