काठमाडौं । आज कात्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस पर्व मनाइँदैछ । आजका दिन सुनचाँदी, गरगहना, भाँडाकुँडालगायत धातुका वस्तु घर भित्र्याउदा वर्षभरि लक्ष्मीको बास हुने मान्यता रहेको छ ।
धनतेरसका दिन आज काठमाडौंको न्युरोड असन तथा इन्दचोक क्षेत्रमा सुनचाँदी गरगहना किन्नेको भिड थियो । यसदिन देशभर ४० देखि ५० किलो सुन र एक हजार किलो चाँदीको माग हुने र एक अर्बभन्दा बढीको कारोबार हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघको जनाएको छ ।
यस दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीलगायत नामले समेत चिनिन्छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।
आजै साँझदेखि घर-घरमा उज्यालो बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ । यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ ।