रुकुम पश्चिम । विश्वव्यापी जलवायु परिवर्तनका असरहरू बढ्दै जाँदा स्थानीय हावापानीमा ठूलो फेरबदल आइरहेको छ । यसपल्टको हिउँदमा नगन्य मात्रै हिउँ पर्नु र हिउँदे वर्षा नहुनुले खाद्य शृंखलामा फेरबदल आउँदा विपन्न समुदायको जीवन कठिन बन्ने देखिएको छ ।
जलवायुमा बर्सेनि आइरहेको फेरबदलका कारण यो हिउँदमा पहाडी भेगमा पानी नै परेन । यसको असर बालीनालीमा परेको छ । वर्षा चक्रमा आएको यो परिवर्तनले किसानको चिन्ता बढाइदिएको छ । कृषि विकास कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाको ३५ हजार ४६० हेक्टर खेतीयोग्य जमिनमध्ये १६ हजार ८४१ हेक्टरमा खेती गरिन्छ । जहाँ ४ हजार ८८२ हेक्टर मात्रै सिँचित छ । खेडेरी लम्बिएपछि उत्पादन घट्ने र यसले खाद्यान्न अभाव हुने जोखिम बढेको छ ।
सुक्खा बढ्दै गएपछि पानीका मुहानहरू पनि सुक्दै जान थालेका छन् । बर्खाको पानी जम्मा गरेर राखेमा यसले केही हदसम्म भए पनि जमिनमा पानी रिचार्ज गर्ने गर्दथ्यो । तर यसतर्फ पनि ध्यान दिइएको छैन ।
जलवायु परिवर्तनका असरहरू बढ्दै जाँदा विपन्न समुदायमा यसको सबैभन्दा ठूलो मार परेको छ । तर जलवायु परिवर्तनका असरसँग अनुकूलित हुने उपाय उनीहरूसम्म पुगेकै छैन । जिल्लाका सबै पालिकाहरूले स्थानीय अनुकूल योजना (लापा) बनाएको भए पनि बजेट अभावका कारण कार्यान्वयनमा चुनौती छ ।
पछिल्लो समय कार्बन उत्सर्जन बढ्दा प्राकृतिक र स्वाभाविक रूपले हुने हावापानीको परिवर्तनमा मानव सिर्जित क्रियाकलापको असर थपिएको छ । यस अवस्थामा हाम्रा परम्परागत र रैथाले बालीहरूको प्रवर्द्धन गर्ने, बर्खे पानी जम्मा गरेर जमिन सिँचित गर्ने उपायहरू अपनाउन जानकारहरू सुझाव दिन्छन् ।
जलवायु परिवर्तनका प्राविधिक पक्षबारे सर्वसाधारणमा सबै जानकारी हुने कुरा त भएन । तर यसको आधारभूत जानकारी गराई सम्भावित क्षतिको न्यूनिकरण गरेर कसरी सजिलो तरिकाले जीवनयापन गर्न सकिन्छ भन्नेतर्फ जानकारी दिने र अनुकुलनका लागि आवश्यक योजना बनाएर अघि बढ्ने काममा तीनै तहका सरकारको सक्रियता जरुरी छ ।