च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्यान्ड विजयी

फाल्गुन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्यान्ड विजयी

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा आयोजक राष्ट्र पाकिस्तान पराजित भएको छ । पाकिस्तानलाई ६० रनले हराउँदै न्युजिल्यान्डले प्रतियोगितामा विजयी सुरूआत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३२० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ४७ ओभर २ बलमा सबै विकेट गुमाएर २६० रन मात्र बनाउन सक्यो ।

न्युजिल्यान्डलाई जित दिलाउन टम लेथम र विल यङले महत्त्वपूर्ण शतकीय पारी खेले । लेथमले ११८ रन तथा यङले १०७ रन बनाए । यस्तै ग्लेन फिलिप्सले ६१ रनको पारी खेले । बलिङतर्फ पाकिस्तानका नसीम शाह र ह्यारिस रउफले २-२ विकेट लिए भने अब्रार अहमदले १ विकेट लिए ।

पाकिस्तानका लागि खुशदिल शाहले सर्वाधिक ६९ रन बनाए । बाबर आजमले ६४ रनको पारी खेल्दा सलमान अली आघाले ४२ रनको पारी खेले । फखर जमानले २४, ह्यारिस रउफले १९, शाहीनशाह अफ्रिदीले १४ तथा नसीम शाहले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ न्युजिल्यान्डका विल ओरुर्के तथा मिचेल स्यान्टनरले ३-३, म्याट हेनरीले २ तथा माइकल ब्रेसवेल र नेथन स्मिथले १-१ विकेट लिए ।

जितसँगै न्युजिल्यान्ड २ अंक सहित समूह ‘ए’ को शीर्ष स्थानमा छ । यो समूहमा भारत र बंग्लादेश पनि छन् । च्याम्पियन्स ट्रफीमा भोलि भारत र बंग्लादेश भिड्नेछन् । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बाट सुरू हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement