वर्षा नहुँदा हिउँदे बालीलाई खडेरीको असर

फाल्गुन ७, २०८१ |नवराज श्रेष्ठ
वर्षा नहुँदा हिउँदे बालीलाई खडेरीको असर

रामेछाप । यसपालिको सिंगो हिउँद पानी नपरी बितेपछि देशभरका किसानको चिन्ता बढेको छ । हिउँदेबाली गहुँ, आलु, तोरी सहित तरकारीमा खडेरीको असर परेको छ । यसै पनि बढी सुक्खा हुने रामेछाप जिल्लामा यसपटकको हिउँदे खडेरीको ठूलो प्रभाव देखिएको छ । पानी नपरेपछि रामेछापका कतिपय खेतबारी त बाँझै छन् ।

पुरानो मौसमको थिति नै खलबलिएर हिउँदमा एकपटक पनि पानी नपर्दा हिउँदेबाली गहुँ, आलु, तोरी तथा तरकारीको उत्पादन घट्ने देखेर रामेछापका किसान निराश छन् । पानी पनि नपरेको र लगाएको बालीनाली बाादर लगायतका जंगली जनावारले नोक्सान गरिदिने हुँदा धेरैले हिउँदे बाली लगाउन छाडेपछि उब्जाउ जमिन बाँझै छन् । खेतीपाती गर्न नसकेर गाउँ छाड्नेहरू पनि उत्तिकै छन् ।

हिउँदमा पानी पर्‍यो भने बालीनालीमा रोगकीराको प्रकोप पनि कम हुने किसानको अनुभव छ । तर यो हिउँदमा एकपटक पनि पानी नर्दा दुःखले लगाएको बालीलाई पनि रोगले सतायो । तामाकोशी र सुनकोशी नजिकका किसानले महँगो मूल्य तिरेर पम्पले तानेर खेत बारीमा सिँचाइ गरे । तर यसरी सिँचाइ गरेको पानीले आकासे पानीले जस्तो बालीनाली उत्पादन हुन सकेन ।

जलुस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालयका अनुसार रामेछापमा ५० हजार ९८० हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये १० हजार २२० हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।

हिउँदे वर्षा सिँचाइ मात्र नभई, बालीको पोषण र रोग प्रतिरोधका लागि महत्त्वपूर्ण मानिन्छ । तर रामेछापमा यो वर्ष एकपटक पनि वर्षा नभई हिउँद बित्यो । जसका कारण खोल्साखोल्सीमा हुने पानीका मुहानहरू पनि सुक्न थालेका छन् ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका राेछाप संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement