काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघले २५ वर्षपछि प्रजातन्त्र दिवसको अवसर पारेर दोस्रो अधिवेशन गरेको छ । अधिवेशनका लागि पाका उमेरका थुप्रै 'प्रजातान्त्रिक सेनानी'हरू कांग्रेस मुख्यालय सानेपामा भेला भएका छन् । राजा महेन्द्रले विसं २०१७ सालमा चालेको अप्रजातान्त्रिक कदमपछि किशोर र युवावयमा संघर्षमा होमिएका उनीहरू अहिले उमेरको उत्तरार्धमा छन् र देशको प्रजातान्त्रिक अवस्था र सुशासनको दूरावस्थाप्रति असन्तुष्ट देखिन्छन् । तर आफ्नो संघर्षपूर्ण विगतप्रति उनीहरूलाई गर्व छ ।
महोत्तरीमा जन्मिनुभएका रामचन्द्र सिंहलाई आफू कति सालमा जन्मिएको भन्ने थाहा छैन । तर 'आफू ८७ वर्षको भएँ' भन्नुहुन्छ । कांग्रेसका बीपी कोइरालालाई तत्कालीन सरकारले नियन्त्रण लिएपछि आन्दोलनमा होमिनुभएका उहाँ नेपाली कांग्रेसको प्रजातान्त्रिक सेनानी हुनुहुन्छ । त्यतिबेला उहाँ २० वर्षको हुनुहुन्थ्यो । प्रजातन्त्रका लागि लड्दा उहाँ पटकपटक जेल पर्नु भयो ।
दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री चार शहीदको प्रेरणाले क्रान्तिमा होमिनुभएका सल्यानका कुलबहादुर सारु मगर अहिले ८४ वर्ष पुग्नुभयो । उहाँसँग प्रजातान्त्र पुनःबहालीका लागि तत्कालीन राज्य सत्तासँग लडेका बेलाका जुझारु सम्झनाहरू छन् । १८ वर्षको उमेरमा कांग्रेसले गरेको सशस्त्र संघर्षमा प्रजातान्त्रिक सेनानी भएर मर्न तयार हुनुभएका मगरलाई आफ्नो विगतप्रति निकै ठूलो गर्ववोध छ ।
२००१ सालमा महत्तोरी जिल्लामा जन्मिनुभएका कामेश्वर पाण्डे १५ सालको आम निर्वाचनका बेला १५ वर्षकै हुनुहुन्थ्यो । १७ सालको 'कु' पछि उहाँ प्रजातन्त्र पुनःबहालीका लागि होमिनुभएको थियो ।
चार दिन चल्ने प्रजातन्त्र सेनानी संघको दोस्रो अधिवशेनले नेतृत्व चयन त गर्ने नै छ । यसको अलावा पार्टी नेतृत्वलाई प्रजातन्त्र र सुशासनका लागि इतिहासको संघर्षलाई नभुल्न पुनः एकपटक झकझकाउने छन् ।