देशैभर सुविधासम्पन्न विदेशी चेन होटल खुल्दै, स्वदेशी व्यवसायी पनि लगानी विस्तारमा

पर्यटनमैत्री वातावरण बनाउन सरकारसँग लगानीकर्ताको माग
फाल्गुन ४, २०८१ |भरत रावल
देशैभर सुविधासम्पन्न विदेशी चेन होटल खुल्दै, स्वदेशी व्यवसायी पनि लगानी विस्तारमा

काठमाडौं । सुविधासम्पन्न र लक्जरी होटल खोज्ने पर्यटकले अब नेपालमै अमेरिका र युरोपका स्तरीय होटलका सेवा पाउन थालेका छन् । एकातिर स्वेदशी चेन होटेलहरूले देशैभरि आफ्नो लगानी विस्तार गरिरहेका छन् भने अर्कोतर्फ विदेशी चेन होटलहरू पनि धमाधम खुल्ने क्रम देखिएको छ । 

कुनै समय काठमाडौंमै सीमित पर्यटकस्तरीय होटलहरू अहिले देशैभरि भेटिन्छन् । यसले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भइरहेको छ भने बजारलाई पनि आशा देखाइरहेको छ ।

गएको एक वर्षमै काठमाडौंमा हिल्टन, लेमन ट्रि प्रिमियम, होलिडे इन रिसोर्ट र मर्क्योर गरी ४ वटा पाँच तारे होटल सञ्चालनमा आएका छन् । सुखद् कुरा के भने यी सबै विदेशी चेन होटल हुन् । काठमाडौंमै ६ अर्बभन्दा बढीको लगानीमा फ्रान्सको चर्चित चेन होटेल रोयल टुलिप उद्घाटनको अन्तिम तयारीमा छ ।

काठमाडौं बाहिर पनि यस्तै ठूला होटल खुल्ने क्रम छ । इटहरीमा रमदा र पोखरामा इन्टरकन्टिनेन्टल होटेल निर्माणको चरणमा छन् । अन्तर्राष्ट्रिय चर्चित ब्रान्डले नेपालको होटेल उद्योगलाई नयाँ उचाइमा पुर्‍याएर जनशक्ति विकास गरिरहेको छ ।

अहिले देशमा दर्जनभन्दा बढी विदेशी पाँच चारे चेन होटेल सञ्चालनमा छन् । आफ्नै ब्रान्ड बनाउन सफल याक एन्ड यती, अन्नपूर्ण, हिमालय जस्ता होटेलले लगानी बढाउँदै छन् । होटेल सोल्टीले पाँच तारे डिलक्समा स्तरोउन्नति गरेको छ भने होटेल हिमालय चारबाट पाँच तारेमा स्तरोन्नति भएको छ । त्यस्तै होटेल मेची क्राउनले हालै मात्र १०१ रूम थपेको छ । होटेल सोल्टीले युरोपमा समेत व्यावस्थापन पाएसँगै नेपाली होटेल पनि अन्तर्राष्ट्रिय स्तरको भएको प्रमाणित भएको छ ।

त्यस्तै स्वदेशमै चेन होटल चलाइरहेका सोल्टी, बाराही, सिद्धार्थ, पौवा जस्ता समूहले पनि लगानी बढाइरहेका छन् ।

पर्यटन विकासका लागि नभई नहुने पूर्वाधार होटलमा बढ्दो लगानीले एकातिर खर्च गर्न सक्ने पर्यटकको नेपाल बसाइ सुखद् र लामो बनाउन सकिने देखिएको छ । अर्कोतर्फ स्वेदेशीसँगै विदेशी लगानीकर्ताहरूको आमगनले बजारलाई समेत विस्तारै चलायमान बनाउने सम्भावना बढेको छ । अझै पनि केही विदेशी चेन होटल नेपाल भित्रिने चरणमा रहेका बेला नेपालका पर्यटन व्यवसायीले भने भएको लगानी टिकाउँदै पर्यटन प्रवर्द्धनमा सरकारले लगानी बढाउनुपर्ने सुझाव दिएका छन् ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement