साढे सात प्रतिशत बढ्यो महँगी, राष्ट्र बैंकको नियन्त्रण बाहिर

भाद्र ३१, २०८० |कान्तिपुर टीभी संवाददाता
साढे सात प्रतिशत बढ्यो महँगी, राष्ट्र बैंकको नियन्त्रण बाहिर

काठमाडौं । आर्थिक वर्षको पहिलो महिनामै नेपाल राष्ट्र महँगी नियन्त्रणमा अक्षम देखिएको छ । गत साउनमा सार्वजनिक गरेको मौद्रिक नीतिमा मूल्यवृद्धि साढे ६ प्रतिशतको सीमाभित्रै राख्ने भने पनि साउनमा महँगी ७.५२ प्रतिशतले बढेको देखिएको छ ।

मर मसला ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.२० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.१९ प्रतिशतले महँगी बढेको नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वित्तीय तथा आर्थिक स्थितिसम्बन्धी रिपोर्टमा उल्लेख छ ।

साथै रेस्टुरेन्ट तथा होटल क्षेत्रमा ११.०५ प्रतिशत र तरकारीको भाउ १०.८० प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ । तर, घिउ तथा तेलको मूल्य १५.१३ प्रतिशतले घटेको छ ।

शिक्षामा ९.१० प्रतिशत र घरायसी उपकरणका ६.७९ प्रतिशतले महँगी बढेको देखिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा ५.१३ प्रतिशतले महँगी बढेको देखिन्छ । तर, महँगी बढे अनुसारको आम्दानी भने बढेको छैन । तलब जम्मा १.०५ प्रतिशत र ज्याला ६.७ प्रतिशतले बढेको छ ।

विदेश पढ्न जानेहरुबाट साउन महिनामा मात्रै १० अर्ब रकम बाहिरिएको छ । जुन गत वर्षको साउनमा ७ अर्ब थियो । तर विदेशबाट आउने विप्रेषण भने २५.८ प्रतिशतले वृद्धि भई एक खर्ब १६ अर्ब २ करोड पुगेको छ

शोधनान्तर स्थिति ३२ अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोडले घाटामा थियो ।

सरकारको ढुकुटीमा भने अहिले दुई खर्ब आठ अर्ब ९३ करोड मौज्दात रहेको देखिएको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोड थियो।

साउनमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.० प्रतिशत देखिएको छ । जुन गत वर्षको साउनमा ७.६४ प्रतिशत कायम थियो ।

Enter Kantipur TV HD
Advertisement