कर्णाली चिसापानी जलविद्युत् आयोजना निर्माणको काम अघि बढाउँछौं : प्रधानमन्त्री दाहाल

भाद्र १, २०८० |कान्तिपुर टीभी संवाददाता
कर्णाली चिसापानी जलविद्युत् आयोजना निर्माणको काम अघि बढाउँछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ३८औं वार्षिकोत्सवमा उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कुनै ‘मेगा प्रोजेक्ट’ अगाडि बढाउने सपना देखेको उल्लेख गर्दै सोही सपनाका रुपमा कर्णाली चिसापानी जलविद्युत् आयोजनालाई लिएको जानकारी दिए । उनले यो आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइएको पनि जनाए ।

त्यसैगरी १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त परियोजना पनि अगाडि बढाउने सोच र योजनाका साथ सरकार लागिपरेको उनको भनाइ छ । ‘योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा आगामी दिनमा १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार ८ सय मेगावाट क्षमताको बहुआयामिक कर्णाली-चिसापानीजस्ता ठूला जलविद्युत् आयोजनाको निर्माण अघि बढाउने सोच र योजनाका साथ नेपाल सरकार अघि बढिरहेको अवस्था तपाईंहरुसँग राख्न पाउँदा मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ,’ उनले भने, ‘मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा नै कुनै मेगा प्रोजेक्ट अगाडि बढाउने सपना देखेको थिएँ । त्यसमध्येको कर्णाली चिसापानी १० हजारभन्दा बढी मेगावाटको सपना थियो । अहिले प्राधिकरणसँग कुरा गरेर अब हामी त्यसको ठोस रुपमा अध्ययन प्रक्रिया अगाडि बढाउँदै छौं । यो सम्पूर्ण नेपालीका लागि खुसी र गर्वको विषय हो भन्ने मलाई महसुस भएको छ ।’

प्रधानमन्त्री दाहालले आन्तरिक विद्युत् खपत बढाउँदै निर्यातका लागि स्पष्ट लक्ष्यसाथ अगाडि बढिरहेको जनाए । ‘नदीनाला र हिमशृंखलाको बाहुल्यताले जलसम्पदामा प्रकृतिको आर्शीवाद प्राप्त हाम्रो देश जलविद्युत् उत्पादनमा अत्यन्त उच्च सम्भावना भएको देशको रुपमा परिचित छ । देशभित्र पनि विश्वभरि पनि । जलवायु जोखिमसँग सम्बन्धित पक्षहरुलाई समेत मनन गर्दै बिनाविलम्ब यो अवसरको उपयोगिता लिन हामी पछि पर्नु हुँदैन । हामीले आन्तरिक विद्युत् खपतलाई उच्च प्राथमिकतामा राख्नै पर्दछ,’ दाहालले भने, ‘आन्तरिक विद्युत् खपतको वृद्धि गर्दै ऊर्जा सुरक्षा हासिल गर्नुका अतिरिक्त स्वदेशी विद्युत् माग पूरा गरी बढी भएको परिमाणको विद्युत् निर्यातका लागि समेत स्पष्ट लक्ष्यका साथ हामी अगाडि बढिरहेका छौं । नेपालको जलविद्युत् विकासमा उल्लेख्यनीय सहभागितामार्फत विद्युत् उत्पादनको बढ्दो हिस्साका लागि योगदान पुर्‍याइरहेका निजी क्षेत्रको उत्पादित विद्युत्‌समेत खरिद गरिरहेको प्राधिकरणले आफैँ वा आफ्ना सहायक कम्पनीमार्फत आगामी दिनमा उत्पादनका क्षेत्रमा सशक्त र अग्रणी भूमिकामा आफूलाई प्रस्तुत गर्दै जाने अपेक्षा र विश्वास मैले लिएको छु ।’

‘नेपालले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको छ’

प्रधानमन्त्री दाहालले सरकारले ऊर्जा संरचनाको निर्माणलाई उच्च प्राथमिकतामा राखेको दाबी गरे । सरकारले नयाँ विद्युत् ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउन कुनै कसर बाँकी नराख्ने पनि उनको स्पष्टोक्ति थियो ।

‘जलविद्युत् आयोजनाहरुको समय सीमाबद्ध विकास र सोसँग सम्बन्धित सम्पूर्ण ऊर्जा संरचनाको निर्माणमा नेपाल सरकारको उच्चतम् प्राथमिकता, सदाशयता र सहयोग रहने प्रतिबद्धता पनि म यस अवसरमा व्यक्त गर्न चाहन्छु । यसका लागि सरकारले नयाँ विद्युत् ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउनसमेत कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने, ‘ऊर्जा सुरक्षालाई पनि एकीकृत राष्ट्रिय सुरक्षाकै अंगका रुपमा लिँदै जलविद्युत्‌को प्रचुर उत्पादनबाट हरित, स्वच्छ ऊर्जा उत्पादकका रुपमा नेपालको अन्तर्राष्ट्रिय जगत्‌मा समेत परिचय स्थापित गरी सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता पूरा गर्न कार्ययोजनाका साथ अघि बढ्नुपर्छ ।’

उनले नेपालले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको जनाउँदै ग्रिन हाइड्रोजनसम्बन्धी नीति जारी गर्ने जानकारीसमेत दिए । ‘नेपालले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि विशेष ध्यान केन्द्रित गर्नुपर्ने बेला आइसकेको छ । सरकारले चाँडै ग्रिन हाइड्रोजनसम्बन्धी नीति जारी गर्दै छ । जुन आफैंमा दूरगामी महत्त्वको घोषणा हुनेछ,’ दाहालले भने, ‘ग्रिन हाइड्रोजन व्यापारिक रुपले सम्भाव्य हुने अवस्थामा नेपाल हरित ऊर्जाको केन्द्र बन्नेछ । यसबाट सरकारले स्वच्छ र नवीकरणीय ऊर्जाको विकास र खपत गर्दै कार्बन उत्सर्जन घटाउने लक्ष्यमा सहयोग पुग्नेछ । तसर्थ म सम्बन्धित निकायलाई यससम्बन्धी थप अनुसन्धान र ज्ञानमा आधारित प्रविधिको विकासमा जोड दिन विशेष आग्रह गर्न चाहन्छु ।’

उनले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत् पुर्‍याउने गरी विद्युत् प्राधिकरण लागिपरिरहेको जानकारी दिए । उनले सरकारले विद्युतीय सवारीसाधन र विद्युतीय चुलोमा प्रोत्साहन गरिरहेको जनाउँदै अब विकासका काममा राजनीति नगरी सबै एकजुट हुनुपर्ने अवस्था आएको उनको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.