
काठमाडौं । अल-अहली साउदी एफसी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति जेद्दामा भएको खेलमा अल-अहलीले १० खेलाडीमा सीमित अल-हिलाललाई ३-१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
यस जितसँगै अल-अहलीको पहिलो पटक महादेशीय उपाधि जित्ने सपना जिवित बनेको छ । म्याथियास जैसलको प्रशिक्षणमा रहेको अल-अहलीका लागि रोबर्टो फिर्मिनोले नवौं मिनेटमा र इभान टोनीले २७औं मिनेटमा गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
तर, पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा सालिम अल-डसारीले अल-हिलालका लागि गोल फर्काए । दोस्रो हाफमा कालिदु काउलिबालीले दोस्रो पहेंलो कार्ड पाएपछि अल-हिलाल ३० मिनेट बाँकी रहँदै १० खेलाडीमा झर्यो ।
खेलको अन्त्यतिर यासिन बोनुले फ्राकं केसीको पेनाल्टी बचाए तापनि फेरास अल-ब्रिकानले तेस्रो गोल गर्दै अल-अहलीको जित सुनिश्चित गरे । अल-अहलीले यसअघि सन् १९८६ र २०१२ मा फाइनल खेले पनि उपाधि जित्न सकेको थिएन ।
अब उसले फाइनलमा आफ्नै देशको अल-नसर वा जापानको कावासाकी फ्रान्टालेसँग प्रतिस्पर्धा गर्नेछ । दुबैबीचको दोस्रो सेमिफाइनल आज राति हुनेछ । फाइनल खेल मे ३ मा खेलिने छ ।