काठमाडौं । नर्वेका १४औं वरीयता प्राप्त कास्पर रूड मड्रिड ओपनको क्वाटर फाइनलमा प्रवेश गरेका छन।
गएराति सम्पन्न अन्तिम १६ को खेलमा अमेरिकाका तेस्रो वरीयता प्राप्त टेलर फिट्जलाई सोझो सेटमा पराजित गर्दै रूडले अन्तिम ८ मा स्थान सुरक्षित गरेका हुन् ।
करिब डेढ घण्टासम्म चलेको प्रतिस्पर्धात्मक खेलमा रूडले पहिलो सेट ७-५ र दोस्रो सेट ६-४ ले आफ्नो पक्षमा पारे । सुरूआती सेटमा दुबै खेलाडीबीच कडा टक्कर देखिएपनि निर्णायक क्षणमा रूडले ब्रेक प्वाइन्ट सदुपयोग गर्दै जित हात पारेका हुन् ।
दोस्रो सेटमा उनले फिट्जमाथि निरन्तर दबाब बनाए । अब रूडले क्वार्टरफाइनलमा रूसका नवौं वरीयता प्राप्त डानियल मेदभेदेवसँग प्रतिस्पर्धा गर्नेछन् ।
मेदभेदेभले अमेरिकी खेलाडी ब्रान्डन नाकाशिमाविरुद्ध पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै ३-६, ६-१, ६-४ को जित निकालेका थिए । रूड र मेदभेदेभबीचको क्वार्टरफाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । दुबै खेलाडी क्ले कोर्टमा बलियो प्रदर्शन गर्न सक्षम मानिन्छन् ।