युएफा च्याम्पियन्स लिग : घरेलु मैदानमै स्तब्ध भयो आर्सनल

वैशाख १७, २०८२ |खेल ब्युरो
युएफा च्याम्पियन्स लिग : घरेलु मैदानमै स्तब्ध भयो आर्सनल

काठमाडौं । फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन पीएसजीले युएफा च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले पराजित गरेको छ ।

लण्डनको एमिरेट्स स्टेडियममा गएराति सम्पन्न खेलमा आर्सनल घरेलु मैदानमै स्तब्ध भयो । ओस्मान डेम्बेलेले खेलको चौथों मिनेटमै गरेको गोल निर्णायक बन्यो । 

खेल सुरू हुनुअघि दुबै टिमका खेलाडी तथा समर्थकहरूले दिवंगत पोप फ्रान्सिसप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । दुबै टिमका खेलाडी र रेफ्रिरूले मैदानको बीचमा उभिएर एक मिनेट मौन धारण गरेका थिए ।

खेलको सुरूवाती समयदेखिनै पीएसजी पूर्ण रूपमा हावी भयो । चौथो मिनेटमा डेम्बेलेको पोस्टमा लागेको प्रहार गोलमा परिणत भयो र लुइस एनरिकेको टोलीले त्यो अग्रता पुरै खेलभरी जोगाउन सफल भयो ।

२००९ यता पहिलोपटक सेमिफाइनल खेलेको आर्सनल दोस्रो हाफमा बलियो देखिएपनि गोल फर्काउन सकेन । मिकेल मेरिनोले गरेको गोल अफसाइडको कारण अस्वीकृत भयो । पीएसजीका गोलरक्षक जियानलुइजी डोनारूम्माले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई अग्रता कायम राख्न मद्दत गरे ।

खेलको अन्त्यतिर ब्राड्ली बारकोला र गोन्सालो रामोसले सुनौलो मौका गुमाएपछि पीएसजीले दोस्रो लेगअघि थप अग्रता लिन सकेन । अब दोस्रो लेग पेरिसमा आगामी बुधबार हुनेछ । विजेता टोलीले म्युनिखमा हुने फाइनलमा इन्टर मिलान वा बार्सिलोनाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।