काठमाडौं । आफू अनुकूलको प्रतिवेदन नआएपछि ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र जारी गर्न रोक लगाउनुभएको छ । हिजो ११ बजे पत्रकार सम्मेलन गरी स्वेतपत्र जारी गर्न भन्दै पत्रकारहरूलाई बोलाएको प्राधिकरणले अन्तिम समयमा रोकेको हो ।
विद्युत् प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकारले प्राविधिक कारणले श्वेतपत्र जारी गर्न रोकिएको बताउनुभयो । कस्तो प्राविधिक कारण हो भनेर नखुलाए पनि प्रवक्ता शिल्पकारले बोर्डको निर्देशनका कारण रोकिएको र थप निर्देशनका आधार प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिनुभयो । प्राविधिक कारण भन्दै रोकिएको भए पनि बोर्डको अध्यक्ष मन्त्री खड्का रहेकाले यो मन्त्रीकै निर्देशनका रोकिएको स्रोतले जनाएको छ ।
प्राधिकरणले औपचारिकरूपमा सार्वजनिक गर्नुअघि सोमबार नै प्रतिवेदनका केही तथ्यांक बाहिरिएका थिए । जसमा विद्युत् प्राधिकरण ४६ अर्ब ४७ करोड नाफामा रहेको उल्लेख छ । मन्त्री खड्काले कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदासम्म प्राधिकरणको नाफा कागजी रहेको बताउँदै आउनुभएको थियो । मन्त्रीको दाबी प्रतिवेदनले पुष्टि गरेको छैन । जसका कारण पनि यो श्वेतपत्र जारी गर्नबाट रोकिएको बताइएको छ ।
यसो त बोर्डबाट पास हुनुअघि नै प्रतिवेदनका केही अंश बाहिरिएपछि मन्त्री खड्का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग पनि असन्तुष्ट हुनुभएको छ ।
घिसिङले ९७ प्रतिशत नागरिकमा राष्ट्रिय प्रसारण प्रणाली र २ प्रतिशतमा लघु जलविद्युत् आयोजना तथा सोलारबाट बिजुली पुगेको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । तर, सार्वजनिक भएको स्वेतपत्रमा ९१ प्रतिशत घरपरिवारमा मात्रै बिजुली पुगेको उल्लेख छ ।