काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ । कोलकाताको जारी लिगमा यो चौथो जित हो । यस जितले कोलकाताको प्लेअफ पुग्ने सम्भावना कायमै रह्यो ।
अरूण जैटली स्टेडियममा घरेलु टोली दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रनको योगफल तयार पारेको थियो । दुई सय रनको आकडा पार गरेपनि कोलकाताका कुनै पनि ब्याटरले अर्धशतक प्रहार गर्न सकेनन् ।
राम्रो सुरूवात गरेको कोलकाताले पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन बनाएको थियो । ओपनर रहमानुल्लाह गुर्बाज २६ रनमा आउट भए। अर्का ओपनर सुनिल २७ रन जोडे । कप्तान अजिंन्के राहाणेले २६ रनको योगदान दिए ।
वेंन्कटेश अय्एरले ७ रनमात्र बनाउन सके । अंगक्रिश रघुवंशीले ३२ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ रनको इनिङ्स खेले । रिन्कु सिंहले ३६ रन र आन्द्रेरसलले १७ रन बनाए । दिल्लीका लागि मिचेल स्टार्सले ३ विकेट लिए । विपराज निगम र कप्तान अक्षर पटेलको नाममा २-२ विकेट रह्यो ।
जवाफमा २ सय ५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रन मात्र बनाउन सक्यो । दिल्लीका लागि फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए ।
उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए । कप्तान अक्षर पटेलले ४३ रनको योगदान दिए । विपराज निगमले ३८ रन र करूण नायरले १५ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोलकाताका लागि सुनिल नराइनले ३ र वरूण चक्रवर्तीले २ विकेट लिए ।
यससँगै १० खेलमा ४ जितसहित कोलकाताले ९ अंक जोडेको छ । उ लिगको सातौ स्थानमा छ । दिल्लीको यो चार खेलमा तेस्रो हार हो । १० खेलमा ६ जितसहित १२ अंक जोडेको दिल्ली चौथौ स्थानमा छ ।