पूर्वी पहाडमा अर्थोडक्स चियाको खेती घट्यो, कसले बुझिदिने किसानको मर्का ?

श्रावण ८, २०८० |लक्ष्मी गौतम|चन्द्र कार्की|विनोद घिमिरे
पूर्वी पहाडमा अर्थोडक्स चियाको खेती घट्यो, कसले बुझिदिने किसानको मर्का ?

धनकुटा । प्रशस्त सम्भावना भएपनि कोशी प्रदेशका पहाडी जिल्लामा अर्थोडक्स चियाको खेती आशा गरेअनुसार फस्टाउन सकेको छैन । बैंकबाट ऋण लिने प्रक्रिया सरल नहुनु, गुणस्तरमा एकरूपता नहुनु, रोग नियन्त्रण तथा बजार सुनिश्चितताका लागि सरकारी पहल पर्याप्त नहुँदा समस्यामा परेको किसानहरूको गुनासो छ ।

२०३९ सालमा चिया क्षेत्र घोषित धनकुटामा अर्थोडक्स चियाको क्षेत्र बर्सेनि घट्दो छ । पाँच वर्ष अघिको तुलनामा चिया खेतीको क्षेत्रफल घटेर तीन सय ८३ मा झरेको छ । खेती विस्तार गर्न ऋण सहयोग, प्रशोधन गर्ने सीपको कमी र बजारीकरणमा भएको अफ्ठ्यारोले समस्यामा परेको अर्थोडक्स चिया किसानको गुनासो छ । क्षेत्र विस्तार हुँदै गएका जिल्लामा पनि हरियो पत्तीको उचित मूल्य निर्धारण नहुनु, श्रमिक अभाव, चियामा देखिने रोगका कारण किसानलाई अर्थोडक्स चिया खेतीमा टिकिरहन मुस्किल छ ।

तरकारी खेतीका लागि वित्तीय संस्थाहरुले लगानी गरेपनि चिया खेतीमा लगानी नदिएको धनकुटा, गुराँसेका किसान इन्द्र सारु मगरले गुनासो गरे ।

यस्तै तेह्रथुम, सोल्माका त्रिलोचन पोखरेलले बजारको ग्यारेन्टी नहुँदा किसान समस्यामा पर्ने गरेको सुनाए । उनले भने, ‘बजारको ग्यारेन्टी छैन । भारतीय बजारमा भर पर्नुपर्ने अवस्था छ । तेस्रो मुलुकमा बिक्री गर्न अहिलेसम्म कैतबाट सहयोग नपाएकाले अर्थोडक्स चिया किसान समस्यामा छन् ।’

पूर्वका पहाडी जिल्लामा उत्पादित अर्थोडक्स चिया गुणस्तरअनुसार प्रतिकिलो एक सयदेखि पाँचहजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । तर सम्भावना भएअनुसार अर्थोडक्स चिया खेतीको विस्तार र प्रवर्द्धन गर्न सरकारी सहयोग नपुगेको उनीहरू बताउँछन् ।

पाँचथरस्थित कञ्चनजंघा टी स्टेटका प्रबन्ध निर्देशक नीरानन्द आचार्यले चियाको लागि भनेर राज्यको तर्फबाट पर्याप्त पहल कदमी नभएको जनाए ।

‘टी बोर्डमार्फत सानातिना प्रयास भएको देखिन्छ । तर उसँग ठूलो बजेट नभएको, राज्यले ठूलो लगानी गर्न नसकेको अवस्था देखिएको छ,’ उनले भने, ‘चियाको लागि भनेर राज्यको तर्फबाट पर्याप्त पहल कदमी भएको स्थिति छैन ।’

४० वर्षअघि चिया क्षेत्र घोषित पूर्वका इलाम, पाँचथर धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लाको आठ हजार आठ सय चार हेक्टर क्षेत्रफलमा अर्थोडक्स चिया खेती भइरहेको छ । यसबाट वार्षिक ६० लाख किलो अर्थोडक्स चिया उत्पादन हुन्छ । यस क्षेत्रका १० हजार पाँच सय किसान अर्थोडक्स चिया खेनीमा संलग्न छन् ।

किसानलाई परिरहेको समस्याको पहिचानका लागि सरोकारवाला सबै निकायको ध्यान जान आवश्यक रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. विष्णुप्रसाद भट्टराईले जनाए । उनले भने, ‘किसानलाई जागरुक बनाउन नसक्नु अथवा किसानलाई सुनिश्चित गर्न नसक्नुमा वास्तविक कारण के हो ? सरोकारवाला र स्थानीय तहका सबै बसेर त्यसको पहिचान गर्न जरुरी छ ।’

चिया किसान, उत्पादक सहकारी र प्रशोधन कारखानामा अनुदान, भरपर्दो बजार, राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रदर्शनी, सिँचाइ, प्राविधिक सेवा, दक्ष जनशक्ति उत्पादन र अनुसन्धान केन्द्रको उचित व्यव्स्थापन हुनुपर्ने माग अर्थोडक्स चिया किसानको छ ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।

Image

चन्द्र कार्की

कार्की कान्तिपुर टेलिभिजनका तेह्रथुम संवादाता हुन् ।

Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement