
गोरखा । गोरखाको अजिरकोट गाउँपालिका कुनै बेला अलैंची उत्पादनको थलो मानिन्थ्यो ।
पहिलो पटक यहाँ परीक्षणका रूपमा स्याउ खेती थालियो । यसले राम्रै उत्पादन दिन थालेपछि अजिरकोटका किसान उत्साहित भएका छन् । गोरखाको अजिरकोट गाउँपालिका-२ मूलखर्कमा १५ रोपनी क्षेत्रफलमा दुई वर्षअघि स्थानीय सन्जीव लामाले स्याउ रोप्नुभएको थियो ।
उत्पादन हुन्छ कि हुँदैन भन्ने दोधारका बीच लगाउनुभएको स्याउ यसपाली वहाँले झन्डै पाँच क्वीन्टल बिक्री गर्नुभएको छ । गाउँमै स्याउ फले पछि किन्नका लागि स्थानीय बारीमै स्याउ टिप्न पुग्ने गरेका छन । प्रतिकिलो ३ सय ५० रूपैयाँको दरले स्याउ बिक्री हुने गरेको छ।
परीक्षणका रूपमा गाउँपालिकाले गाला, इटालियन फुजी, र गोल्डेन डेलिसिएस जातको बिरूवा स्याउको किसानलाई अनुदानमा दिएको थियो । परिक्षण सफल भएपछि गाउँपालिका स्याउ खेती प्रवर्द्धन कार्यक्रमलाई अघि बढाउने भएको छ । अजिरकोट गाउँपालिकाको उच्च भेग २ हजार १ सय ३५ मिटर उचाइमा स्याउ फले पछि स्थानीय किसानमा समेत यसतर्फ आर्कषण बढेकाे छ ।