धनकुटामा एक वर्षमा करिब ३१ सय मेट्रिक टन मासु उत्पादन

कार्तिक २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटामा एक वर्षमा करिब ३१ सय मेट्रिक टन मासु उत्पादन

धनकुटा । धनकुटामा एक वर्षमा करिब ३१ सय मेट्रिक टन मासु उत्पादन भएको छ ।

धनकुटाका विभिन्न सातवटा स्थानीय तहमा स‍ञ्चालित ४ सय ५४ वटा बाख्रा, बंगुर, भैंसी, कुखुरा र हाँस फार्मबाट ३१ सय ६६ मेट्रिक टन मासु उत्पादन भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले जनाएको छ । धनकुटामा सबैभन्दा बढी राँगा, बंगुर, खसी, कुखुरा र हाँसको मासु उत्पादन, खपत र अन्य जिल्लामा हुने गरेको केन्द्रको तथ्याङ्क छ । 

मासु उत्पादनमा धनकुटा नगरपालिका अगाडि देखिएको छ । राँगा, बंगुर, खसी, कुकुरा र हाँसजस्ता पशुपन्छीबाट धनकुटा नगरपालिकामा मात्रै १ हजार ४ सय ५७ मेट्रिक टन मासु उत्पादन भएको हो । धनकुटापछि महालक्ष्मी नगरपालिकामा ४ सय ४७, चौबिसे गाउँपालिकामा ४ सय १, पाख्रिबासमा ४ सय, छथर जोरपाटी गाउँपालिकामा २ सय ४५, साँगुरीगढी गाउँपालिकामा १ सय १७ र सबैभन्दा कम शहीदभूमि गाउँपालिकामा ९४ मेट्रिक टन मासु उत्पादन भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाका सूचना अधिकारी दिनेश कार्कीले जानकारी दिनुभयो । 

धनकुटामा उत्पादित ६० प्रतिशत मासु जिल्ला बाहिरको बजारमा बिक्रीका लागि जानेगरेको छ । बाँकी ४० प्रतिशतले घरेलु उपभोग धानेको सूचना अधिकारी कार्कीले बताउनुभयो । धनकुटा मासुमा पूर्णरूपमा आत्मनर्भर भए पनि प्रशोधित मासुजन्य वस्तु भने आयात हुन्छ । धनकुटाबाट ज्यूँदो खसी, राँगा र कुखुरा बिक्री हुँदा माछा भने आयात हुने गरेको छ । 

धनकुटामा व्यावसायिक र अर्ध व्यवासायिक गरी एकसय ५० वटा बाख्रा, १ सय २४ वटा गाई र भैंसी फार्म सञ्चालनमा छन् । यस्तै १ सय १० वटा बंगुर र ७० वटा कुखुरा फार्म सञ्चालनमा रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.