२२ मध्ये २१ उद्योगी व्यवसायीले बुझाए डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौताकाे पहिलो किस्ता

कार्तिक २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
२२ मध्ये २१ उद्योगी व्यवसायीले बुझाए डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौताकाे पहिलो किस्ता

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनवापतको बक्यौता नतिरेका कारण कात्तिक ४ र ७ गते लाइन काटिएका २२ मध्ये २१ वटा उद्योगी व्यवसायीले पहिलो किस्ता बुझाएका छन् । 

जगदम्बा सिन्थेटिकबाहेक अन्य सबैले किस्ता बुझाएको विद्युत प्राधिकरणले जानकारी दिएको छ। बक्यौता बुझाउन २५ मध्ये तिनवटाको कात्तिक अघि नै उद्योग बन्द रहेकाले लाइन काटिएको थियो । अहिले ६ वटा उद्योगले बक्यौता विवादमा अदालतको अन्तरिम आदेश लिएर बसेका छन् । 

यसबाहेक ३३ वटा उद्योगहरू भने नियमित किस्ता बुझाउन तयार भएका छन् । किस्ता बुझाएसँगै प्राधिकरणले काटिएका लाइनहरू जोड्न सुरू गरेको छ । विद्युत बक्यौता नबुझाएर लाइन काटिँदा बन्द रहेका दाङका दुईवटा सिमेन्ट उद्योगले बक्यौता महसुलको पहिलो किस्ता तिरेका छन् । सोनापुर मिनरल एन्ड आयल प्रालि र घोराही सिमेन्ट उद्योगले पहिलो किस्ता तिरेपछि बिजुली जोडिएको छ ।

लोडसेडिङकालमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौताको पहिलो किस्ता सोनापुर मिनरल्सले मंगलबार र घोराही सिमेन्टले बुधबार तिरेपछि विद्युत जडान गरिएको नेपाल विद्युत प्रधिकरण घोराही शाखाका इन्जिनियर नन्दलाल शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार घोराही सिमेन्ट उले पहिलो किस्तावापत एक करोड ८१ लाख रूपैयाँ तिरेको छ । घोराही सिमेन्टको बक्यौता ५० करोड ८५ लाख रूपैयाँ थियो ।

त्यसैगरी सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगवापतको पहिलो किस्ता ८६ लाख ३० हजार रूपैयाँ बुझाएको हो । सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रूपैयाँ बक्यौता छ । बक्यौतालाई उद्योगहरूले २८ किस्तामा बुझाउन सक्नेछन्। विद्युत जडान भएपछि दुबै उद्योग सञ्चालन भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.