बजारमा विषादीयुक्त फलफूल र तरकारीको निर्बाध बिक्री

जेष्ठ २१, २०८० |भरत रावल
बजारमा विषादीयुक्त फलफूल र तरकारीको निर्बाध बिक्री

काठमाडौं । खाद्यान्नको गुणस्तर परीक्षण गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अभियानकै रुपमा खाद्य स्वच्छता सप्ताह चलाइरहेको छ । तर आम उपभोक्ता भने गुणस्तरहीन वस्तुको उपभोग गर्न बाध्य छन् । भारतबाट आयात गरिएकादेखि स्वदेशमै उत्पादित फलफूल तथा तरकारीमा विषादीको मात्रा उच्च रहने गरे पनि विभागले प्रभावकारी अनुगमन तथा परीक्षण गर्न सकेको छैन ।

नागरिकलाई स्वच्छ खाद्यान्न खुवाउने भन्दै सरकारले ४ वर्षअघि नै भन्सार विन्दुमा विषादी परीक्षण कार्यालय स्थापना गर्‍यो । तर विषादी परीक्षण औपचारिकतामा मात्र सीमित हुँदा नागरिक विषादीयुक्त खाद्यान्न उपभोग गर्न बाध्य छन् । अहिले विषादीको उच्च प्रयोग गरिएको आँप खाएर आम नागरिकमा झाडा पखाला लगायतका स्वास्थ्य समस्या देखिने गरेको गुनासो आइरहेको छ । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भने विषादी परीक्षण प्रभावकारी भएको दाबी गर्छ ।

विभागले गत आर्थिक वर्षमा भन्सार विन्दुमा फलफूल तथा तरकारीका ५० हजार वटा नमुना परीक्षण गर्दा ३० वटा अयोग्य प्रमाणित भएका थिए । अहिले भारततर्फका भन्सारमा ९ वटा, चीनतर्फ २ वटा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा गरी १२ वटा विषादी परीक्षण कार्यालय छन् । तर, बजारमा विषादीयुक्त फलफूल-तरकारी छ्याप्छ्याप्ती भेटिन्छन् ।

अहिले आँप, लिची, केराजस्ता आयातीत फलफूलमा विषादीको मात्रा अधिक हुने गरेको उपभोक्ताको गुनासो छ । तर व्यवसायी भने बजारमा विषाक्त फलफूल नभएको दाबी गर्छन् ।

सरकारले भन्सार नाकामा विषादी परीक्षण गर्न स्थापना गरेका कार्यालय भारतीय दबाबमा सञ्चालन नभएपछि ४ वर्षअघि अदालतले विषादी परीक्षण गरेरमात्रै आयात गर्न आदेश दिएको थियो । त्यसपछि परीक्षणले निरन्तरता पाए पनि उपभोक्ताले ढुक्कसँग उपभोग गर्ने स्थिति अझै छैन।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।