सुदूरपश्चिममा ७० प्रतिशतले घट्यो मह उत्पादन

जेष्ठ १९, २०८० |वरुण पनेरू
सुदूरपश्चिममा ७० प्रतिशतले घट्यो मह उत्पादन

डडेलधुरा । सुदूरपश्चिम प्रदेशमा मह उत्पादन व्यापक कमी आएको छ । मह काढ्ने समयमा लगातार पानी परेकाले मौरीमा रोगको सङ्क्रमण बढेसँगै मह उत्पादनमा ७० प्रतिशत कमी आएको हो । मह कम उत्पादन भएपछि किसानले नोक्सानी बेहोर्नु परेको छ । 

गत वर्ष भन्दा सुदूरपश्चिम प्रदेशमा मह उत्पादनमा ७० प्रतिशत कमी आएको छ । ५७ वर्ष पहिले डडेलधुराको आलिताल क्षेत्रबाट काठमाडौं मह निर्यात हुन्थ्यो । हाल आएर गाउँघरमै मह चाख्‍नसमेत नपाइने अवस्था आएको छ । मह काढ्ने समयमा मौरीमा रोग लागेपछि यो वर्ष मह उत्पादन घटेको हो । साथै चरन क्षेत्रको अभाव भएका कारण पनि उत्पादनमा कमी आइरहेको मौरी पालक किसानको भनाइ छ ।

‘मौरीमा रोग छ, बच्चा उत्पादन नहुने । त्यस कारण अहिले मौरी भएनन् र मह पनि भएन,’ डडेलधुराको आलिताल-४ का महेश बोहराले सुनाए । 

डडेलधुरामा १२ हजार भन्दा बढी मौरीघार रहेको कृषि ज्ञान केन्द्र डडेलधुराको तथ्याङ्क छ । मौरीले मह पार्ने समयमा चिसो बढेको र पानी पनि परेकाले उत्पादन घटेको हो । डडेलधुरामा ५० मेट्रिक टन मह उत्पादन हुने गरेको भए पनि यस वर्ष भारी गिरावट आएको हो ।

कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख रामचन्द्र भट्ट किसानहरू आफैले खेतबारीमा चरनको वैकल्पिक व्यवस्था नगरुन्जेलसम्म महको उत्पादन घट्दै जाने सम्भावना देखिएको बताउँछन् ।

डडेलधुराको आलिताल गाउँपालिकामा सबैभन्दा बढी मह उत्पादन हुने गरेको थियो । तर विगत दुई वर्षदेखि जिल्लाभरी नै मह उत्पादन घटेको छ । मह उत्पादन कम भएपछि यो वर्ष महको मूल्य बढेको छ ।

गत वर्षसम्म ९ सय ५० रुपैयाँ प्रतिकिलोमा पाइने मह बजारमा हाल १ हजार रुपैयाँमा बिक्री भइरहेको छ। मह उत्पादन कम भएपछि यसमा गरेको लगानी नउठ्ने देखेर कृषक निराश छन् ।


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।