प्रधानमन्त्रीको भारत भ्रमण : हवाई प्रवेश विन्दुको विषय उठाउने नेपालको तयारी

जेष्ठ ११, २०८० |अर्थ ब्युरो
प्रधानमन्त्रीको भारत भ्रमण : हवाई प्रवेश विन्दुको विषय उठाउने नेपालको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा क्रसबोर्डर हवाई उडान, नयाँ प्रवेश विन्दु र नयाँ विमानस्थल सञ्चालनको विषय उठाइने भएको छ ।

नयाँ बनेका दुईवटा विमानस्थल भूराजनीतिक चपेटामा पर्दा एक वर्षसम्म पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । यस पटकको भारत भ्रमण ऐतिहासिक बनाउने दाबी गर्दै आएका प्रधानमन्त्रीसामु यी समस्या सुल्झाउनैपर्ने चुनौति छ ।

एक वर्षअघि नै व्यावसायिक संचालनमा आएको लुम्बिनी स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अझै पनि अन्तराष्ट्रिय उडान भर्ने जहाजहरुका लागि भारत हुँदै नेपालमा सहज प्रवेश विन्दु पाएको छैन । नेपाल नागरिक उड्ययन प्राधिकरणले लुम्बिनीको नजिक पर्ने भारतीय भूभाग लुम्सीबाट प्रवेशविन्दु माग गरे पनि भारतले आनाकानी गरेको छ ।

लुम्सीबाट हवाई रुट दिएमा गौतमबुद्ध र पोखरा विमानस्थलमा उडान-अवतरण सहज हुने र यात्रुलाई लागत पनि कम पर्ने छ । त्यस्तै प्रस्तावित निजगढ विमानस्थललाई पनि सहयोग गरी हवाई प्रवेश विन्दु दिन आग्रह गर्नुपर्ने विज्ञहरुले सुझाएका छन् ।

सरकारले आउँदा वर्षमा पर्यटकको संख्या दोब्बरले बढाउने लक्ष्य लिएको छ । त्यसका लागि वाषिर्क झण्डै १५ प्रतिशतले बढेको हवाई चाप थेग्न र ठूलो लगानीमा बनाइएका विमानस्थलको व्यावसायिक संचालन मुख्य लक्ष्य लिइएको छ ।

पोखरा विमानस्थल चिनियाँ ऋणमा बनेको भन्दै भारतले उडान अनुमति दिएको छैन ।

नेपालले पूर्वदेखि पश्चिमसम्म कम्तीमा ७ प्रवेश विन्दु दिन माग गर्दै आएको छ । महेन्द्रनगर र नेपालगन्जमा भारतले सैनिक क्षेत्र परेको भन्दै पन्छाउँदै आएको छ । पश्चिम क्षेत्रबाट आएका जहाजले महेन्द्रनगरलाई प्रवेश विन्दु बनाउन सकेमा दशदेखि पन्ध्र मिनेटको दूरी छोटिने छ ।

प्रधानमन्त्रीको भ्रमणमा हुने प्राविधिक विषय सुल्झाउन भ्रमणपूर्व नै दुई देशका प्राविधिक अधिकारीहरुको बैठक तय भइसकेको छ । यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयको हवाई उद्योग महाशाखा प्रमुख बुद्धिसागर लामिछाने र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बुधबार नै नयाँ दिल्ली पुगिसकेका छन् ।

हवाई रुट प्राविधिक विषय भए पनि राजनीतिकरण गरिँदा समस्या भएको जानकार बताउँछन् । पोखरा विमानस्थल चिनियाँ ऋणमा बनेको भन्दै भारतले उडान अनुमति दिएको छैन । त्यस्तै चिनियाँ कम्पनीले नै बनाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षसम्म पनि नियमित उडान हुन सकेको छैन ।

अत्यधिक हवाई चापका कारण विमान आकाशमै होल्ड गर्नुपर्ने अवस्था छ ।

दुवै विमानस्थलको सञ्चालन प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा बन्ने जनाइएको छ । विमान अवतरणलाई सहज बनाउन जडान गरिएको इन्स्ट्रुमेन्टल ल्याल्डिङ सिस्टम (आईएलएस) को वेबले बोर्डर पार गर्दा सिस्टम नै सञ्चालनमा आउन सकेको छैन । यसका लागि प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने छ ।

अर्बौं रुपैयाँ ऋण लिएर निर्माण गरिएका दुई विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल गर्न सके प्रधानमन्त्री दाहालको भारत भ्रमण सार्थक हुने देखिन्छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपालमा दैनिक ८० वटा अन्तराष्ट्रिय र करिव साढे दुई सय आन्तरिक उडान हुने गरेको छन् । अत्यधिक हवाई चापका कारण विमान आकाशमै होल्ड गर्नुपर्ने अवस्था रहेको भन्दै सेवा प्रदायकले सरकारको आलोचना गर्दे आएका छन् । 

भारत सरकारसँग थप हवाई प्रवेश विन्दु लिन सकेमा गौतमवुद्ध र पोखराविमानस्थलको सञ्चालन भएर काठमाडौंको हवाई ट्राफिक कम हुने विश्वास लिइएको छ ।



Enter Kantipur TV HD
Advertisement